- सभापति र वरिष्ठ नेताले सम्बोधन गर्ने, कांग्रेस सभापति थापा, एमाले अध्यक्ष ओलीदेखि नेकपा संयोजक प्रचण्डसम्मलाई विशिष्ट अतिथिको निम्तो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ७–९ असारसम्म चितवनमा हुने महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशनको कार्यतालिका पारित गर्न बिहीबार केन्द्रीय सचिवालय बैठक बिहान ८ बजे पार्टी कार्यालय वनस्थलीमा बस्दै छ ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पहिलो दिनको उद्घाटन सत्रको गृहकार्य भइरहेको छ । कार्यक्रमको तालिका तयार भएको छ । सचिवालय बैठकले संशोधनसहित स्वीकृत गर्नेछ । कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका– १० स्थित गेस्टहाउस चौरमा ७ असार दिउँसो १ बजे हुनेछ । उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने तय भएको छ । पार्टीका तर्फबाट बोल्ने अन्य नेताको नाम सचिवालय बैठकबाट तय हुनेछ ।
उद्घाटन सत्रमा विभिन्न दलका नेताले शुभकामना मन्तव्य दिने कार्यक्रम छ । रास्वपाले शुभकामना मन्तव्यका लागि दलका नेताहरूलाई आमन्त्रण गरेको छ । रास्वपाले कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ), जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सिके राउत र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य दिन आमन्त्रण गरेको छ । ‘सबैलाई सूचित भइसक्यो । पत्र पठाएका छौँ । केहीको कन्फर्मेसन आइसकेको छ,’ बुर्लाकोटीले भने । महाधिवेशन प्रतिनिधिलाई ७ असार १ बजेसम्म उद्घाटन सत्रमा सहभागी भइसक्न अनुरोध गरिएको छ ।
कार्यतालिकाअनुसार दोस्रो दिन प्रतिवेदनहरू प्रस्तुत हुनेछन् । विधान संशोधन मस्यौदा पारित गर्ने कार्यक्रम छ । त्यसपछि महाधिवेशन निर्वाचन तालिकामा प्रवेश गर्नेछ । उद्घाटन सत्रमा सांगीतिक कार्यक्रम पनि हुनेछ । महाधिवेशनस्थलमा स्थानीय उत्पादनको स्टल राख्ने विषयमा गृहकार्य भइरहेको बुर्लाकोटीले बताए ।
विधान संशोधन मस्यौदा तयार
प्रथम महाधिवेशनमा जुटेको रास्वपाले विधान संशोधन मस्यौदा तयार पारेको छ । सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित उपसमितिले मस्यौदा केन्द्रीय सचिवालय र केन्द्रीय समितिमा पठाएको छ । सचिवालयबाट बिहीबार अनुमोदन गर्ने तयारी छ । यसैगरी अभिखेलीकरण दस्ताबेजीकरण उपसमितिबाट स्मारिका प्रकाशनको काम भइरहेको छ । हल व्यवस्थापन उपसममितिले द्रुत गतिमा काम गरिराखेको महामन्त्री बुर्लाकोटीले बताए ।
महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि आउने गृहकार्य छ । महामन्त्री बुर्लाकोटीले प्रतिनिधि दर्ता गर्ने र अभिलेख रुजु गर्ने काम गरिरहेको बताए । उनका अनुसार प्रतिनिधिलाई एउटा नोटप्याडसहित किट, कलम, क्लियर ब्याग, कार्यक्रम तालिका, प्रतिवेदनहरू हरेक सेसनमा प्रस्तुत गरिसकेपछि वितरण गरिन्छ । हार्ड कपी र अनलाइनबाट उपलब्ध गराइनेछ । हलमा प्रतिनिधिको सुरक्षाका लागि आकस्मिक स्वास्थ्य सेवादेखि लिएर आवश्यक प्रबन्ध गरिएको छ । महामन्त्री बुर्लाकोटीका अनुसार करिब एक हजार पर्यवेक्षक र स्वयंसेवक खट्ने तयारी छ ।
महाधिवेशनमा पाँचवटा प्रतिवेदन प्रस्तुत गर्ने तयारी
रास्वपाले महाधिवेशनका लागि पाँचवटा प्रतिवेदनको तयारी गरेको छ । तयारीका लागि महामन्त्री भूपदेव शाहको संयोजकत्वमा प्रतिवेदन समन्वय उपसमिति नै बनाएको छ । महामन्त्री शाहले महाधिवेशनमा पाँचवटा प्रतिवेदन पेस हुने बताए । ‘राजनीतिक प्रतिवेदन सभापतिले पेस गर्नुहुन्छ । सांगठनिक प्रतिवेदन महामन्त्रीहरूले पेस गर्नुहुन्छ । यसैगरी लेखा आयोग प्रतिवेदन, निर्वाचन आयोग प्रतिवेदन र अनुशासन आयोग प्रतिवेदन पेस हुन्छ,’ शाहले भने ।
पाँचवटै प्रतिवेदनको मस्यौदाका लागि पाँचजना फोकल पर्सनहरू तोकेर विशेषाधिकार प्रदान गरिएको शाहले बताए । राजनीतिक प्रतिवेदनका लागि गणेश कार्की, सांगठनिक प्रतिवेदनका लागि सञ्जीव भट्टराई, लेखा निशा डाँगी, निर्वाचन सागर ढकाल र अनुशासन अरनिको पाँडेलाई जिम्मा दिइएको छ । ‘मैले संयोजन गर्छु । थप डकुमेन्ट बनाउनुपर्ने हो कि दस्ताबेजीकरण गर्ने कुरामा । अरू उपसमितिसँग समन्वय सहकार्य भइरहेको छ,’ उनले भने ।
महामन्त्री शाहले महाधिवेशनको सबै तयारीहरू अगाडि बढिरहेको बताए । ‘काठमाडौं र चितवनमा युद्धस्तरमा काम भइरहेको छ । अफिसियल ब्यानर आयो । पहिलो महाधिवेशनमा सबैको अपेक्षा छ कि सबैजना एकैठाउँमा आएर दुइतिहाइ नतिजा ल्यायौँ । एकीकरण र समायोजन देखिने गरी सन्देश दिन्छ भन्ने सबैको अपेक्षा छ । भावनात्मक रूपमा चुनाव नगरेर एक हिसाबको सबैको सहमतिको महाधिवेशन होस् भन्ने छ,’ उनले भने ।
यद्यपि, पार्टी ठुलो भएको परिस्थितिमा धेरै आकांक्षी देखिएको र सहमति नहुँदा लोकतान्त्रिक प्रक्रियाबाट हुन सक्ने उनको भनाइ छ । यसैका लागि सचिवालय र केन्द्रीय समिति बस्न लागेको उनले जानकारी दिए । महामन्त्री शाहले सभापति र वरिष्ठ नेता निर्विकल्प भएको पनि बताए । ‘दुइटा पदको विकल्प छैन । अन्य पदमा पनि पार्टीलाई कसरी अगाडि बढाउने भनेर सभापति र वरिष्ठ नेताले सोचेर ल्याउनुहुन्छ । सबैलाई जिम्मेवारी मिलाएर दिन सकियो भने मिल्छ,’ उनले भने ।
खाना र बासको व्यवस्था
रास्वपाले प्रतिनिधिलाई खाना र बासको व्यवस्था गरेको छ । महाधिवेशनमा आउने प्रतिनिधिलाई ७ असार दिउँसोदेखि १० असारसम्म खाजा र खाना उपलब्ध गराइनेछ । यसैगरी महाधिवेशन स्थल हलबाट बास बस्ने ठाउँसम्मको सटल बसको व्यवस्था गरिएको छ । रास्वपाले सहुलियत दरमा बासको व्यवस्था गरेको छ । तर, पैसा प्रतिनिधि आफैँले तिर्नुपर्नेछ । ‘होटेलहरूसँग सहुलियत दरमा रुमहरू मिलाइएको त्यहीअनुसार प्रतिनिधिहरूलाई दररेट उपलब्ध गराइएको छ,’ बुर्लाकोटीले भने ।
मधेशका सांसदसँग सभापति लामिछानेको छलफल
रास्वपा सभापति रवि लामिछानेले पार्टीका मधेश प्रदेशका प्रत्यक्ष र समानुपातिक गरी ४० सांसदसँग छलफल गरेका छन् । बुधबार बिहान पार्टी संसदीय दलको कार्यालयमा भएको छलफलमा मधेशका जिल्ला र प्रदेश समितिको अधिवेशन हुन नसकेको विषयमा सांसदहरूले आफ्नो धारणा राखेका थिए । उनीहरूले पार्टी नेतृत्वबाट सहयोग र समन्वय नभएको, गुट–उपगुट भएको, अरू पार्टीबाट प्रभाव परेको जस्ता समस्या सुनाएका थिए । बैठकमा सातवटा जिल्ला र कतिपय पालिकाको अधिवेशन हुन नसकेको विषयमा समीक्षा भएको महोत्तरीका सांसद दीपककुमार साहले बताए । ‘अधिवेशन हुन नसकेकोमा सभापतिजीले दुःख व्यक्त गर्नुभयो । तपाईंहरूले गराउन सक्नुभएन । अब मै गराउँछु, त्यसमा तपाईंहरूको सहयोग चाहियो । सबैजना मिलेर महाधिवेशन राम्रो बनाउनुपर्छ । त्यसपछि जिल्ला र प्रदेश अधिवेशन मिलेर गराउनुपर्छ भन्नुभयो,’ साहले भने । सभापति लामिछानेले ४० जना सांसदसँग आफ्नो क्षेत्र र जिल्लामा के समस्या हो अधिवेशन नहुनुको छुट्टाछुट्टै लिखित रिपोर्ट पेस गर्न निर्देशनसमेत दिएका छन् ।