सरकारले यही असार तेस्रो सातादेखि भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको छ। बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सो जानकारी दिएकी हुन्।
भूमि आयोग कार्यकर्ता भर्ना गर्ने थलो मात्र हुँदा त्यसले निकास दिन नसकेको उल्लेख गर्दै मन्त्री रावलले पुरानो ढर्रा र संरचनाले काम नगर्ने निष्कर्षसहित समिति गठन गरेर काम गरिरहेको जानकारी दिइन्।
‘३०औँ वर्षमा १२ लाख निवेदन प्राप्त भएकोमा नौ हजार मात्र लालपुर्जा बाँडिनु भनेको एकदमै लज्जास्पद कुरा हो,’ उनले भनिन्। जिल्लास्तरमा पनि सिडिओको अध्यक्षतामा समिति बनाएर काम भइरहेको उनले जानकारी दिइन्।
उनले भनिन्, ‘हामीले काम सुरुवात गरिसकेका छौँ, मन्त्रालयले अपेक्षा गरेको चाहिँ असारको तेस्रो हप्तादेखि लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्नेछौँ।’