बर्दियाको गुलरिया नगरपालिकामा २८ बाढी प्रभावित परिवारलाई आवास हस्तान्तरण गरिएको छ । मंगलबार एक औपचारिक कार्यक्रम गरेर गुलरिया नगरपालिका वडा ८ र ९ का गरी २८ बाढी प्रभावित परिवारलाई नगरप्रमुख मुक्तिनाथ यादवले आवास हस्तान्तरण गरेका हुन् ।
गुलरियामा ०७१ र ०७४ सालमा आएको बाढीबाट प्रभावित परिवारलाई ६ लाख ३१ हजार २२० रुपैयाँको लागतमा आवास निर्माण गरिएको हो । आवास निर्माणका लागि गुलरिया नगरपालिकाले दुई लाख, कारितास इटालिएना र कारितास नेपालको रु. एक लाख ६९ हजार ७१४ र घरधनीको रु. दुई लाख ६१ हजार ५०६ रुपैयाँको लागतमा जस्तापाताले भान्सासहित आवास निर्माण गरिएको कारितास नेपाल फिल्ड कार्यालयका कार्यक्रम संयोजक नरेन्द्र केसीले बताए ।
उनले भने, ‘पालिका र कारितास नेपालको साझेदारीमा सञ्चालित आपतकालीन जीविकोपार्जन तथा पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत लामो समयदेखि टहरामा बस्दै आएका बाढीपीडितका लागि आवास निर्माण गरिएको हो ।’
पालिका, कारितास नेपाल र बाढीपीडितको लगानीमा बाढी प्रभावितका लागि बस्ती बनाउन सफल भएको गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले बताइन् । पालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले भवन निर्माण भएर हस्तान्तरण भएसँगै अब स्थानीयहरू हावाहुरी, आगलागी, बाढीजस्ता प्राकृतिक विपतबाट सुरक्षित हुने बताए ।