त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा उपभोग गरेर पनि सेवामा नफर्किने तथा फर्केर पनि पूरा अवधि सेवा नगर्ने शिक्षक र कर्मचारीहरूलाई अल्टिमेटम दिएको छ।
त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार एक जरुरी सूचना जारी गर्दै त्यस्ता शिक्षक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन अन्तिम मौका दिएको हो।
अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने त्रिविको चेतावनी छ।
‘...यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र समितिको कार्यालयमा वा [email protected] मार्फत सम्पर्क राख्नुहुन पुनः जानकारी गरिन्छ। अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।