कप्तान मेसीको कीर्तिमानी खेलमा अर्जेन्टिनाको जित

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

कप्तान लियोनल मेसीको ह्याट्रिक तथा कीर्तिमानी गोलसँगै अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा अल्जेरियालाई ३–० ले हराएको छ । बुधबार अमेरिकाको कन्सास सिटीमा मेसीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल गरे । उनले खेलको १७, ६० र ७६औँ मिनेटमा गोल गरेका हुन् । तर, ह्याट्रिक गरेपछि मेसीले मैदान  छाडेका थिए ।

विश्वकपको पहिलो खेलमै मेसीले कीर्तिमान बनाएका छन् । छैटौँपटक विश्वकप खेलिरहेका ३८ वर्षीय मेसी विश्वकपको इतिहासमा पाका  ह्याट्रिककर्ता बने । यसअघि क्रिस्टियानो रोनाल्डोले ३३ वर्ष १३० दिनमा ह्याट्रिक गरेका थिए । यस्तै, मेसीले व्यक्तिगततर्फ विश्वकपमा पहिलो ह्याट्रिक गरे ।

यस्तै, मेसीले जर्मनी स्टार मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानी बराबरी गरेका छन् । अब, मेसीले एक गोल गरे मात्रै पनि क्लोजको यो कीर्तिमान उछिन्नेछन् । यो जितपछि अर्जेन्टिनाले समूह ‘जे’मा तीन अंक जोडेको छ । अब, मेसीको अर्जेन्टिनाले दोस्रो खेलमा अस्ट्रिया र तेस्रो खेलमा जोर्डनको सामना गर्नेछ ।

आज नै बिहान भएको खेलमा केलिएन एम्बाप्पेले दुई गोल गरेपछि फ्रान्सले सेनेगललाई ३–१ ले हरायो । दुई गोल गरेका एम्बाप्पे पनि उच्च गोलकर्ताको पाँचौँ स्थानमा उक्लिएका छन् । उनको गोलसंख्या १४ पुग्यो । 

यस्तै, अर्काे खेलमा एर्लिङ हाल्यान्डले दुई गोल गर्दा नर्वेले एसियाली मुलुक इराकलाई ४–१ ले हराएको छ ।

सुझावित समाचार