रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीमा योगदान गरेकाको नम्बर थपसम्बन्धी आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन्। मंगलबार संसद् भवनपरिसरमा पत्रकारहरूसँग कुरा गर्दै बुर्लाकोटीले आफूले टिकट वितरण गर्दा पार्टीमा योगदान गरेका व्यक्तिको एक नम्बर थप हुने बताएको प्रस्टीकरण दिएका हुन्।
सो धारणा पार्टीको अधिवेशनमा राखेको उल्लेख गर्दै उनले भने, ‘त्यहाँ साथीहरूले मलाई के प्रश्न गर्नुभएको थियो– हामी पार्टीमा लागेर योगदान गरेका साथीहरूको पनि उही, अनि ल्याटरल इन्ट्री आएर पनि उही टिकट पाउने हो भने, स्थानीय तहको टिकट वा पार्टीको चुनावको टिकटमा उही हुन भएन। हामी पार्टीमा योगदान गरेकाहरूको कम्तीमा केही त हुनुपर्यो, केही विधि बनाउनुपर्यो भन्नुभएको थियो।’
उनले अगाडि थपे, ‘दुईजना योग्यहरू हुनुहुन्छ। पढेलेखेको, आफ्नो काममा सफल, इमानदार हुनुहुन्छ। तर, दुई व्यक्तिमध्ये एउटा आफ्नो पेसामा मात्रै हुनुहुन्छ। पार्टी राजनीति आदि इत्यादी केही पनि गर्नुभएको छैन। अर्को व्यक्ति चाहिँ पार्टी राजनीतिमा रास्वपाप्रति झुकाव राखेर भोट हाल्ने, यस्तो केही गर्नुभएको छ भने पार्टीले टिकट वितरणको क्रममा १ नम्बर त्यस्तो व्यक्तिहरूलाई थप्छ, अरु बाँकी नम्बर चाहिँ आफ्नै क्षमता, योग्यता, अनुशासनले कमाउनुपर्छ। एक नम्बर चाहिँ पार्टीमा योगदान गरेकोमा थप्छ भनेको थिएँ।’