अपहरण तथा कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सप्तरीले अपहरण गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा ११ वर्षदेखि फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरीको सुरुंगा नगरपालिका– ९ निवासी ६९ वर्षीय दाउद मियाँ र सिराहाको लहान नगरपालिका– १९ निवासी ६० वर्षीय नसिर भन्ने बसिर मियाँ रहेका छन्। दाउद मियाँलाई ०८३ जेठ २४ गते तथा बसिर मियाँलाई ०८३ जेठ ३१ गते पक्राउ गरिएको हो।

प्रहरीले दिएको जानकारीअनुसार ०७२ भदौ २९ गते साँझ करिब ७ बजे सुरुंगा नगरपालिका– ९ निवासी ऐनुल मियाँलाई आफ्नै घरबाट अपहरण गरी बन्धक बनाइएको थियो। त्यसपछि उनलाई बलान खोलाको पूर्वतर्फ रहेको पैनीको बाटोमा लगी पानीमा डुबाएर तथा मुख थुनेर हत्या गरिएको आरोप छ।

घटनापछि फरार रहेका प्रतिवादीहरूको खोजतलासका क्रममा दाउद मियाँलाई सुरु‌ंगा नगरपालिका– ९ बाट र नसिर भन्ने बसिर मियाँलाई बलानबिहुल गाउँपालिका– १ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै प्रतिवादीविरुद्ध सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। दाउद मियाँलाई पहिलो चरणमा पाँच दिन र दोस्रो चरणमा थप पाँच दिन म्याद थप गरिएको छ भने बसिर मियाँलाई तीन दिनको म्याद थप अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

See More On

सुझावित समाचार