जापानी खेलाडी र समर्थकले मन जिते

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण
  • नेदरल्यान्ड्सलाई २–२ को बराबरीमा रोक्दै प्रशंसा बटुलेका जापानी समर्थक रंगशालामा फालिएका फोहोर सफा गरेर विश्वको ध्यानाकर्षित गर्न सफल भए 

२३औँ विश्वकपअन्तर्गत सोमबार बिहान जापानले नेदरल्यान्ड्सको सामना गरेको थियो । युरोपकै शक्तिशाली राष्ट्र नेदरल्यान्ड्सविरुद्ध दुईपटक गोलले पछाडि रहँदा पनि जापानिज खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै खेल २–२ को बराबरीमा नतिजामा टुंग्याए । खेलमा नेदरल्यान्ड्सभन्दा जापानको धेरै चर्चा भयो । अन्तर्राष्ट्रिय मिडिया जापानको खेलको प्रशंसा गरेर थाकेनन् । उनीहरूले जापानले नेदरल्यान्ड्सलाई खेल अवधिभर दबाबमा राखेको बताए । 

मैदानमा खेलाडीले आफ्नो ध्यान अन्तर्राष्ट्रिय मिडियामा केन्द्रित गरिरहँदा जापानिज समर्थकले पनि फरक किसिमको काम गरी प्रशंसा बटुलेका छन् । रंगशालामा फालिएका फोहोर आफैँ सफा गरेर जापानी समर्थक विश्वको ध्यानाकर्षित गर्न सफल भए । यसो त जापानिज समर्थक आफ्नो राष्ट्रको खेल जहाँ–जहाँ हुल्न्, त्यहाँ पुग्छन् । प्यारापिटमा अनुकरणीय काम गर्दा उनीहरू खुसी हुन्छन् । 

नेदरल्यान्ड्सविरुद्धको खेलमा उनीहरूले यस्तै गरेका हुन् । उनीहरू मैदान वा प्यारापिट फोहोर भएको हेर्न सक्दैनन् । अरूले फ्याँकेको फोहोर पनि जापानिज समर्थकले आफ्नै झोलाभित्र राख्छन् । यसकारण जापानिज समर्थकलाई विश्वभरि नै सफा भन्छन् । एक किसिमले उनीहरूले रंगशालामा संस्कार नै बनाएका छन् । 

नेदरल्यान्ड्स र जापानका समर्थक रंगशालामा भरिएका थिए । युरोपेली राष्ट्र नेदरल्यान्ड्सका समर्थकले आफू बसेको स्थानमा फोहोर गरी फर्केका थिए । जापानसँगको जितेको खेल बराबरी नतिजामा टुंगिँदा नेदरल्यान्ड्सका समर्थक केही हदसम्म रिसाएका थिए । तर, जापानिज समर्थकले खानेकुरा र फालिएका प्लास्टिकका सामान टिपेर रंगशाला सफा गरेका थिए । जुन भिडियो र तस्बिर अहिले अन्तर्राष्ट्रिय मिडियामा भाइरल बनेको छ । विश्वकप इतिहासमा जापानले फ्रान्सले सन् १९९८ मा आयोजना गरेको संस्करणमा डेब्यु गरेको थियो ।

त्यसयता जापान निरन्तर विश्वकपमा छनोट भएको छ । सन् १९९८ देखि जापानिज समर्थकले रंगशाला सफा गर्दै आइरहेका छन् । यसका साथै उनीहरूले ओलम्पिक र हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा यस्तै अनुकरणीय काम गर्दै आइरहेका छन् । यसपटक अमेरिकामा विश्वकप हेर्न जापानले ६ हजार माइल्स यात्रा गरेको छ । टेक्सासको डालास सहरमा नेदरल्यान्ड्सविरुद्धको खेलका क्रममा जापानिज समर्थकले फोहोर राख्ने सयौँ प्लास्टिक ब्याग बोकेका थिए । खेल समाप्तिपछि उनीहरू सफा गर्दै रंगशालाबाट बाहिरिएका थिए । 

विद्यालयदेखि नै शिक्षा
जापानीहरूले विद्यालयदेखि नै आफू बसेको स्थान सफा गर्नुपर्छ भन्ने शिक्षा पाएका हुन्छन् । यसलाई उनीहरूले जीवनभर नै पालना गर्छन् । ओसाका विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक स्कट नर्थले जापानिज समर्थक अरूभन्दा भिन्न रहेको बताउँछन् । ‘उनीहरूलाई फोहोर मन पर्दैन । अरूले फोहोर गरे पनि सफा गर्छन्,’ नर्थले भने, ‘विश्वकपमा सहभागी अन्य राष्ट्रका समर्थकले पनि यस्तै गर्नुपर्छ । विद्यालयमै खेलपछि सरसफाइ गर्नुपर्ने सिकाइन्छ । उनीहरूको यो प्रमुख आधारभूत शिक्षा हो ।’ 

जापानको विद्यालयमा विद्यार्थीले कक्षाकोठा र बरन्डा आफैँ सफा गर्छन् । सानैदेखि सिकेको बानीका कारण जो–कोही जापानिज जहाँ गए पनि सफा नगरी बस्न नसक्ने नर्थले बताए । ‘जापानमा आफ्नो स्थान आफैँ सफा गर्नुपर्ने हुन्छ । उनीहरूले यो संस्कारलाई संसारसँग बाँड्ने चाहेका छन्,’ नर्थले भने, ‘फेरि विश्वकप यस्तो प्लाटफर्म हो, जहाँ संसारको नजर परेको हुन्छ ।’ 

सुझावित समाचार