पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिकाले आठौँ पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। फाइनल खेल मंगलबार हुनेछ।
सोमबार तल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनलमा पाँचपोखरीले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३३ रनले पराजित गर्यो। टस हारेर ब्याटिङ गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रनको लक्ष्य थियो। प्रत्युत्तरमा हिमालयन १९ ओभरमा अलआउट हुँदा मात्र १२४ रन बनायो।
विजयी पाँचपोखरीका प्रतीक श्रेष्ठले २४ बलमा ४४ रन बनाए भने कप्तान सार्थक धितालले ४१ र बुद्धिमान पाख्रिनले ३३ रन जोडे। पुजन धितालले १० बलमा अविजित २६ रनको आक्रामक इनिङ्स खेले। हिमालयनका कप्तान पेम्बा तामाङले ३ विकेट लिए।
हिमालयनका लागि कर्मा तामाङले ३४ तथा पासाङ तामाङले २० रन बनाए। पाँचपोखरी विजयकुमार धितालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन मात्र खर्चेर ३ विकेट लिए। मनोज खड्काले २ तथा प्रतीक श्रेष्ठले २ विकेट हात पारे।
दोस्रो सेमिफाइनलमा हेलम्बु गाउँपालिकाले मेलम्ची नगरपालिकालाई २७ रनले हराउँदै फाइनलमा स्थान बनायो। टस जितेर ब्याटिङ गरेको हेलम्बुले २० ओभरमा २ विकेट गुमाएर १५८ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा मेलम्ची १९ ओभरमा सबै विकेट गुमाउँदा १३० रनमा समेटियो।
मेलम्चीका सचिन लेखक शतकबाट ४ रनले चुके। उनले ६४ बलमा १० चौका र ३ छक्कासहित अविजित ९६ रन बनाएका हुन्। शिवम तिवारीले १९ बलमा अविजित ३७ रन थपे। बबिन बोहराले ४७, अभिषेक चौलागाईंले ३३ तथा सुभाष खत्रीले २६ रनको योगदान दिए। हेलम्बुका शिवम तिवारीले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए।