बाँदर लखेट्ने क्रममा भिरबाट लडेर ६५ वर्षीय वृद्ध गम्भीर घाइते

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

बाँदर लखेट्ने क्रममा भिरबाट लड्दा रामेछापको मन्थली नगरपालिका– ८, चिसापानीका ६५ वर्षीय ठेटबहादुर ढुंगेल गम्भीर घाइते भएका छन्। सोमबार दिउँसो घरछेउको बारीमा आएका बाँदर लखेट्ने क्रममा भिरबाट लडेर ढुंगेल घाइते भएका हुन्।

उनलाई तत्काल उद्धार गरी उपचारका लागि मन्थली अस्पताल ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिए। उनका अनुसार घाइते ढुंगेलको टाउकोमा गम्भीर चोट लागेको छ।

चिसापानीमा बाँदरआतंक बढ्दो छ। बारी तथा खेतमा लगाएको अन्नबाली बाँदरले खेतबारीमा नै सखाप पार्ने गरेको छ। खेतबारीमा अन्नपात नपाएपछि बाँदरले घरमा समेत पसेर अन्नपात खाने गरेको छ। बर्सेनि बाँदरले दुःख दिएपछि स्थानीय गाउँलेले विभिन्न जुक्ति निकाले पनि बाँदर खेदाउन सकेका छैनन्।

सुझावित समाचार