एमालेमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जाने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस तीव्र बन्दै तल्ला कमिटीसम्म पुगेको छ । केन्द्रीय सचिवालयद्वारा गठित ‘चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ले आयोजना गरेको बागमती प्रदेशस्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म विस्तार भएको हो ।
शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न भेलामा पार्टीभित्र देखिएको ध्रुवीकरण खुला रूपमा सतहमा आएको सहभागी नेताहरूले बताएका छन् । बागमती भेलाबाट पुनर्गठनको पक्ष–विपक्षमा खुलेर बहस सुरु हुँदा अध्यक्ष ओलीमाथि दबाब बढेको छ । तर, आफू नेतृत्वमा रहेको वेला पार्टीलाई ठुलो धक्का लागे पनि ओली अहिलेसम्म नेतृत्व हस्तान्तरणको पक्षमा छैनन् ।
विश्लेषक कृष्ण पोखरेल भन्छन्– इतिहासको पदचिह्न भित्तामा लेखिएको अक्षर पढेर पनि अहिले केपी ओलीले बुझ पचाइरहेका छन् । भित्ताको अक्षरले छोड भनिरहेको छ । दायाँ–बायाँका शंकर पोखरेल र विष्णु पौडेलले छाडिसकेको अवस्थालाई पनि उनी बुझ्न तयार छैनन् ।
अकल्पनीय पराजयले मार्गप्रशस्त गर्नका लागि सन्देश दिइरहे पनि उनी मान्न तयार देखिँदैनन् । यसरी नबुझ्नु, पराजय स्वीकार नगर्नु उनको स्वभावकै रूपमा प्रकट भएको छ । अर्कोतिर, मनमा भयले काम गरिरहेको छ ।
अध्यक्ष छाड्दा सरकारको छानबिन र कारबाहीमा कांग्रेसमा देउवालाई जस्तै आफूलाई पनि पार्टीले प्रतिरक्षा गर्दैन कि भन्ने डर छ । अझै लोकप्रिय छु, केन्द्रीय कमिटीबाट आफ्नै निरन्तरताको निर्णय गराउँछु, त्यसो नभए प्रचण्डसँग एकता गर्ने गरी विद्या भण्डारीको कार्ड अघि सार्छु भन्ने लागेको पनि हुन सक्छ ।