भिरबाट टेम्पो खसालेको घटना : प्रदेश मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

कैलालीको गोदावरी नगरपालिका– ४, गाईमारेमा वनका कर्मचारीले टेम्पो भिरबाट खसालिदिएको घटनामा सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छानबिन समिति गठन गरेको छ। मन्त्रीस्तरीय निर्णयका आधारमा सुदूरपश्चिम वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जानकारी दिए । 

समितिमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुर वरिष्ठ डिभिजनल वन अधिकृत धर्मराज पाध्याय, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् ।

मन्त्रालयका सचिव कोइरालाका अनुसार समितिलाई सात दिनभित्र घटनाबारे छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको छ। घटना के हो ? कसरी त्यस्तो हुन गयो ? कसरी अतिक्रमण हटाइयो, कानुनको दायरामा ल्याउनुपर्ने कर्मचारी वा व्यक्ति रहेछ भने त्यसको समेत छानबिन गर्न समितिलाई कार्यादेश दिइएको उनले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले वनका १२ जना कर्मचारीलाई हिजो नियन्त्रणमा लिएको थियो। सचिव कोइरालाले वन ऐनअनुसार अतिक्रमण हटाउन खटिएका कर्मचारी नियन्त्रणमा लिइनु दु:खद भएको बताए ।  

वन कार्यालयको टोलीले चुरे क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा वन अतिक्रमण गरेर राखिएको भन्दै स्थानीय घनश्याम धामी र धनादेवी धामीदम्पतीको टेम्पो गत शुक्रबार भिरबाट खसालिदिएकाे थियाे । उक्त टेम्पो सडकछेउमा राखी धामीदम्पतीले खुद्रा सामान राखेर बिक्री गर्दै आएका थिए । सडकछेउमा राखिएको टेम्पो केही समययता चलाउने भने गरिएको थिएन ।
 

सुझावित समाचार