चालू आर्थिक वर्ष ०८२/८३ पहिलो ६ महिनाको अवधिमा उद्योगहरूको क्षमता उपभोग सामान्य घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययनसम्बन्धी चालू आवको अर्धवार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
गत आवको पहिलो ६ महिनामा उद्योगहरूको औसत क्षमता ४२.९४ प्रतिशत थियो । तर, चालू आवको ६ महिनामा भने यस्तो अनुपात ४२.११ प्रतिशतमा सीमित छ । ‘समीक्षा अवधिमा सर्वेक्षणमा समेटिएका कुल एक सय ९५ उद्योगहरूको औसत क्षमता उपयोग ४२.११ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा उक्त उद्योगहरूको औसत क्षमता उपयोग ४२.९४ प्रतिशत रहेको थियो,’ प्रतिवेदनमा भनिएको छ ।
सर्वेक्षणमा समेटिएका उद्योगहरूमध्ये गार्मेन्ट उद्योगको क्षमता उपयोग ९५.७४ प्रतिशत र अन्य लत्ताकपडा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ९० प्रतिशत रहेको छ । यसैगरी, जलविद्युत् उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ८२.७४ प्रतिशत, टायर तथा ट्युब उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ७६.२० प्रतिशत र चाउचाउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ७०.०६ प्रतिशत रहेको छ ।
अध्ययनले समेटेका उद्योगहरूमध्ये गार्मेन्ट, चिनी, स्टिलजन्य उत्पादन, भटमासको तेल, आल्मुनियम उत्पादन, बियर, प्रशोधित छाला, मलम, टायर तथा ट्युब, अन्य रासायनिक पदार्थ, चिरेको काठ उत्पादन, हल्का पेय पदार्थ, मदिरा, बिस्कुट, धागो, सिमेन्ट आदि उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग बढेको छ ।
त्यसैगरी, जिआई पाइप, कच्चा छाला, वनस्पति घिउ, चुरोट, इँटा, जिआई तार, ड्राई सिरप, फलामको छड तथा पत्ती तथा सामानहरू, चप्पल, गहुँको पिठो, प्रशोधित चिया, प्रशोधित दुध, कागज, बिजुलीका तार र केबुल, घरेलु धातुका सामान आदि उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग घटेको छ ।
कुन प्रदेशमा घट्यो–बढ्यो ?
प्रदेशगत रूपमा हेर्दा कोशी, गण्डकी र सुदूरपश्चिमका उद्योगको क्षमता उपयोग घटेको छ । कोशी प्रदेशका उद्योगको क्षमता उपयोग ५.७१ प्रतिशत विन्दुले घटेको छ । गत आवको ६ महिनामा ४८.६ प्रतिशत रहेको त्यहाँको उद्योगको क्षमता उपयोग चालू आवको ६ महिनामा ४२.८९ प्रतिशतमा सीमित भएको छ । यस्तै, गण्डकीका उद्योगको क्षमता उपयोग १.८४ प्रतिशत विन्दुले घटेको छ । गत आवको ६ महिनामा त्यहाँका उद्योगको क्षमता उपयोग ४१.४ प्रतिशत थियो । चालू आवको ६ महिनामा त्यो घटेर ३९.५६ प्रतिशतमा सीमित छ । यस्तै, गत आवको ६ महिनामा ३५.७९ प्रतिशत रहेको सुदूरपश्चिमका उद्योगको क्षमता उपयोग यसपालि ३०.८२ प्रतिशतमा सीमित छ ।
बागमतीमा १२.९३ प्रतिशत विन्दुको वृद्धि
बागमतीका उद्योगको क्षमता उपयोग १२.९३ प्रतिशत विन्दुले बढेको छ । गत आवको ६ महिनामा ३३.८२ प्रतिशत रहेको उद्योगको क्षमता उपयोग अहिले ४६.७५ प्रतिशत पुगेको छ । यस्तै, मधेशका ५.४६ प्रतिशत विन्दु, लुम्बिनीका ३.८९ प्रतिशत विन्दु र कर्णालीका ४.०३ प्रतिशत विन्दुले उद्योगको क्षमता उपयोग बढेको छ । गत आवमा मधेशमा ३४.६४ प्रतिशत, लुम्बिनीमा ४६.५५ प्रतिशत र कर्णालीमा ४०.२२ प्रतिशत रहेको उद्योगको क्षमता उपयोग यसपालि क्रमशः ४०.१ प्रतिशत, ५०.४४ प्रतिशत र ४४.२५ प्रतिशत पुगेको छ ।