पार्टीको नीतिविपरीत कञ्चनपुरमा रास्वपाद्वारा ठेकेदार कम्पनीलाई तोकेरै चन्दा माग

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

पार्टीको नीति तथा सिद्धान्तविपरीत कञ्चनपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ठेकेदार कम्पनीलाई तोकेरै चन्दा माग गरेको छ। रास्वपा कृष्णपुर नगरपालिका– १ वडा समितिले ठेकेदार कम्पनी अञ्जल कन्स्ट्रक्सनलाई तोकेरै चन्दा माग गरेको हो।

रास्वपा वडा सभापति सुरेन्द्र बोहराद्वारा २७ जेठ ०८३ मा हस्ताक्षर गरिएको पत्रमा असार १ गतेदेखि हुने सुदूरपश्चिम प्रदेश अधिवेशन तथा असार ७ देखि ९ गतेसम्म हुने पार्टीको महाधिवेशनका लागि भन्दै लेटरप्याडमै तोकेरै ३० हजार रुपैयाँ माग गरिएको छ।

सत्तारुढ रास्वपाले लेटरप्याडमै तोकेरै ठेकेदार कम्पनीसँग चन्दा मागेपछि पार्टीभित्र र बाहिर आलोचना भइरहेको बुझिएको छ।

पार्टीभित्र नीति तथा सिद्धान्तविपरीत चन्दा मागिएको भन्दै आलोचना भइरहेको छ भने बाह्य राजनीतिक वृत्तमा सत्तारुढ दल नै चन्दा माग्न उद्यत् भएको आरोप–प्रत्यारोप चलिरहेको छ। सर्वसाधारण नागरिकहरूले समेत अन्य पुराना दलजस्तै रास्वपा पनि उही शैलीमा रहेको टिप्पणी गरिरहेका छन्।

रास्वपा कञ्चनपुर सभापति पदम विष्टले चन्दाको विषयमा आफू जानकार नभएको बताए।

‘कुनै व्यक्ति वा समूहसँग हामीले जबर्जस्ती वा लेटरप्याडमै चन्दा माग्ने नीति छैन। कुनै शुभेच्छुकले स्वेच्छाले सहयोग गरे मात्र लिने हो,’ उनले भने, ‘कृष्णपुरमा पार्टीको लेटरहेड प्रयोग गरिएको विषयमा बुझेर दोषी भेटिए कारबाही गर्छु।’

कतिपयले सुशासनको विषय अघि सारेको पार्टीकै नेता–कार्यकर्ताबाट चन्दा मागिनु दुःखद विषय भएको भन्दै त्यसतर्फ पार्टीले सुधार गर्नुपर्ने बताएका छन्। केहीले भने दलको कार्यक्रमका लागि विनास्वार्थ आर्थिक सहयोग माग्नु ठुलो विषय नभएको तर्क गरिरहेका छन्।

यद्यपि, सुशासन र भ्रष्टाचारमुक्त समाजको संकल्प बोकेको दलबाट चन्दा माग्ने विषय उचित नभएको सुझाव आइरहेको छ। साथै, नेता–कार्यकर्ताको आत्मनिर्भरताका विषय पनि उठिरहेका छन्।

सुझावित समाचार