पहिलो महाधिवेशनको सम्मुख रास्वपा : ६५ जिल्ला र चार प्रदेशमा नयाँ नेतृत्व चयन

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले ६५ जिल्ला र चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ । ७ असार ०७९ मा स्थापना भएर तदर्थ समितिबाट चल्दै आएको रास्वपाले ७–९ असारसम्म चितवनमा हुने प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेको हो ।

कांग्रेस, एमाले, नेकपाजस्ता पुराना दललाई चुनौती दिँदै २१ फागुनको चुनावबाट संसद्को पहिलो दल बनेको रास्वपा जिल्ला नेतृत्व चुन्दै गर्दा अधिकांश अन्य दलबाट आएकाहरू छन् । विगतमा पुराना दलमा सक्रिय उनीहरू सभापति रवि लामिछानेको सुशासनको अभियान र वरिष्ठ नेता बालेन्द्र शाहको डेलिभरी शैलीबाट प्रभावित रास्वपा प्रवेश गरी नेतृत्वमा पुगेको देखिएको छ । रास्वपा सभापति लामिछानेले ४ चैतमा सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा जुनसुकै पार्टीबाट आए पनि पार्टीको स्पिरिटअनुसार काम गर्न र पुरानो प्रवृत्ति छोड्न अपिल नै गरेका थिए । ‘फरक पार्टीबाट आउँदैमा कुनै लघुताभाषमा नरहनुस् । पुरानो प्रवृत्तिबाट टकटकिएर आउनुस् । अगाडि बढ्नुस्,’ उनको भनाइ थियो, ‘पुरानो नयाँ भनेर कुनै भेदभाव वा विभेद गरिनेछैन । देश बनाउन सामूहिकतामा अगाडि बढौँ ।’ केन्द्रीय निर्वाचन आयोगको तथ्यांकअनुसार कोशीमा १४ जिल्ला, मधेश १, बागमती १२, गण्डकी ९, लुम्बिनी ११, कर्णाली नौ र सुदूरपश्चिमका नौ जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ । कांग्रेस छाडेर आएका २०, एमालेका १३ र नेकपा त्यागेका चार जनाले नेतृत्व पाएका छन् ।

कोशीमा पुरानै दलबाट आएका नेताको वर्चस्व 
कोशीका १३ वटै जिल्लामा अधिवेशन भई नेतृत्व चयन भएको छ । यहाँ अधिकांश पुरानै दलबाट आएका व्यक्तिको वर्चस्व छ । झापाका रास्वपा सभापति ओमनाथ भण्डारी पेसाले व्यवसायी हुन् । उनी कुनै दलमा आबद्ध भएको रेकर्ड नभए पनि पारिवारिक पृष्ठभूमि एमाले हो । मोरङका सभापति भरत कँडेल शिक्षण पेसामा थिए ।

तेह्रथुमका सभापति सुमन खत्री पेसाले मेकानिकल इन्जिनियर हुन् । सामाजिक तथा नागरिक गतिविधिमा सक्रिय उनी कुनै पार्टीमा सक्रिय नभए पनि पारिवारिक पृष्ठभूमि एमाले हो । ताप्लेजुङका सभापति राजनकुमार गुरुङ होटेल व्यवसायी हुन् । उनी पहिले कांग्रेस समर्थक थिए । भोजपुरका सभापति ख्यामबहादुर भुजेल ०७९ अघिसम्म कांग्रेसको स्थानीय गाउँ कमिटीका नेता थिए । संखुवासभाका सभापति भक्तनारायण श्रेष्ठ पूर्वसैनिक एवं होटेल व्यवसायी हुन् । पाँचथरका सभापति प्रकाश गुरुङ कांग्रेसका पूर्ववडाध्यक्ष हुन् । ओखलढुंगाका सभापति कृष्णबहादुर थापा पूर्वएमाले हुन् । ०८० मा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर नेतृत्वमा पुगेका हुन् । सुनसरीका सभापति सागर दाहाल रेस्टुरेन्ट व्यवसायी हुन् ।

सोलुखुम्बुका सभापति नारायणकाजी कार्की ०७४ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । ०७९ पछि उनी रास्वपा प्रवेश गरेका हुन् । खोटाङका सभापति मुकुन्दकृष्ण थापा पेसाले इन्जिनियर हुन् । त्यस्तै, इलामका सभापति दिनेश महत रेडियो बुद्धवाणीका सञ्चालक हुन् । पहिले कांग्रेस समर्थक थिए । धनकुटाका सभापति भुवन थापा पूर्वमाओवादी कार्यकर्ता हुन् । उनले पूर्वसांसद् हेमराज भण्डारीसँगै माओवादी छाडेका थिए । उदयपुरका सभापति चित्रकुमार कार्की विद्यार्थीकालमा कांग्रेसनिकट थिए । ०७४ को स्थानीय तह चुनावमा उनी त्रियुगा नगरपालिकाको मेयरमा स्तन्त्र उम्मेदवार बनेका थिए ।

मधेशमा एउटा मात्र जिल्ला अधिवेशन
मधेशको एउटा मात्र जिल्लामा अधिवेशन भएको छ । पर्सामा बुद्धिप्रसाद पन्त (हरि पन्त) सभापति चुनिएका छन् । उनी होटल व्यवसायी हुन् । उनी यसअघि कुनै दलमा सक्रिय थिएनन् ।

बागमतीमा सिन्धुपाल्चोकबाहेक १२ जिल्लाको नेतृत्व चयन 
बागमतीमा १३ मध्ये सिन्धुपाल्चोकबाहेक १२ जिल्लाको अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ । नुवाकोटका युवा सभापति रामेश्वर गजुरेल यसअघि कुनै दलमा आबद्ध थिएनन् । रास्वपाबाटै राजनीति सुरु गरेका उनी त्यसअघि सामाजिक कार्य र शिक्षण पेसामा थिए ।

भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत ढुवानी व्यवसायी तथा समाजसेवा संलग्न व्यक्ति हुन् । ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन कला क्षेत्रमा सक्रिय हुँदै रास्वपा स्थापनाकालबाट राजनीतिक सुरु गरेका व्यक्ति हुन् ।

रसुवाका सभापति वसन्त भट्ट सभापति लामिछानेको मिसन र भिजनबाट प्रभावित भएर रास्वपामा आबद्ध भएका हुन् । त्यसअघि उनी राजनीतिक दलमा आबद्ध थिएनन् । काभ्रेका सभापति प्रवीणकुमार ढकालले पनि सभापति लामिछानेबाट प्रभावित भई रास्वपाबाटै राजनीति सुरु गरेका हुन् । त्यस्तै, रामेछापका सभापति रमेश रायमाझी कपडा व्यवसायी हुन् । सिन्धुलीका सभापति अविनाश बस्नेत व्यवसायी हुन् । विवेकशील अभियानबाट उनी रास्वपामा आएका हुन् । दोलखाका सभापति दिनेश बस्नेत रास्वपामा आबद्ध हुनुअघि एमालेको जिल्ला समिति सदस्य थिए । मकवानपुरका सभापति सञ्जीव पाठक माओवादीनिकट हुन् । चितवन उपनिर्वाचनको समयबाट रास्वपामा प्रवेश गरेका उनी अहिले नेतृत्वमा पुगेका हुन् । त्यस्तै, धादिङका सभापति राजन अर्यालको राजनीतिक पृष्ठभूमि कांग्रेस हो । चितवनका सभापति मिनिमाधव खनालको राजनीतिक पृष्ठभूमि कांग्रेस हो । काठमाडौं सभापति राजा शाक्यले एमालेबाट राजनीति सुरु गरेका हुन् ।

गण्डकीमा कांग्रेस र एमाले त्यागेकाहरू बराबर नेतृत्वमा
गण्डकीका ११ जिल्लामध्ये नौ जिल्लामा नेतृत्व चयन भएको छ । मनाङ र मुस्ताङमा अधिवेशन भएको छैन । कास्की सभापति यदुनाथ अधिकारी यसअघि एमाले जिल्ला कमिटी सदस्य थिए । नवलपुरका सभापति दोमनबहादुर भण्डारी कांग्रेसबाट रास्वपा प्रवेश गरेका हुन् । उनी बालेन शाहको काम गर्ने शैलीबाट प्रभावित भएर रास्वपामा आएका हुन् । स्याङ्जाका सभापति रुक्माङ्गत भण्डारी कांग्रेसनिकट हुन् । सभापति लामिछानेको अभियानबाट प्रभावित भएर रास्वपा प्रवेश गरेका उनी नेतृत्वमा पुगेका हुन् ।

तनहुँका सभापति विश्वनाथ बास्तोला दुई कार्यकाल कांग्रेस जिल्लासचिव भइसकेका राजनीतिज्ञ हुन् । उनी रास्वपाभित्र स्वर्णिम वाग्ले पक्ष मानिन्छन् । पर्वतका सभापति जलबहादुर पुन कांग्रेस समर्थक हुन् । सभापति लामिछानेबाट प्रभावित भएर रास्वपामा सक्रिय भएका हुन् । म्याग्दी सभापति युवराज रोक्का वैदेशिक रोजगारीमा थिए । सभापति लामिछानेबाट प्रभावित भएर स्वदेश फर्किए । लमजुङका सभापति अशोक सापकोटा एमालेको राजनीतिमा थिए । गोरखाका सभापति सुवर्ण रोकाया क्षेत्रीले सभापति लामिछानेबाट प्रभावित भएर रास्वपाबाटै राजनीति सुरु गरेका हुन् । बागलुङमा विवादका बीच सभापति निर्विरोध चुनिएका पुनम शर्मा एमाले सक्रिय कार्यकर्ता थिए ।

लुम्बिनीमा धेरैजसो रास्वपामै राजनीति गरेका नेतृत्वमा
लुम्बिनीका १२ मध्ये ११ जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ । रुकुमपूर्वमा अधिवेशन भएको छैन । पश्चिम नवलपरासीका सभापति डा. रवि पाण्डे रास्वपाबाटै राजनीतिमा आएका हुन् । रुपन्देहीका सभापति महेन्द्रप्रसाद उपाध्याय पनि रास्वपाकै राजनीति गरेर नेतृत्वमा पुगेका छन् । कपिलवस्तुका सभापति शिव सुवेदी पनि रास्वपाबाटै राजनीति गरेर नेतृत्वमा पुगेका छन् । पाल्पाका सभापति विष्णु भण्डारीको राजनीतिक पृष्ठभूमि एमाले हो । गुल्मीका सभापति हरि श्रेष्ठले पनि रास्वपाबाटै सक्रिय राजनीति थालेका हुन् । अर्घाखाँचीकी सभापति सीता पराजुलीको राजनीतिक पृष्ठभूमि कांग्रेस हो । दाङका सभापति किरण खनालले रास्वपाबाटै राजनीति गरेका हुन् । बाँकेका सभापति विवेककुमार श्रेष्ठ व्यवसायी हुन् । बर्दियाकी सभापति शान्ता बुढा क्षेत्री र प्यूठानका सभापति विकास पोखरेल पनि रास्वपाबाटै सक्रिय राजनीति सुरु गरेका हुन् । रोल्पाका सभापति बालराम थापाको पृष्ठभूमि कांग्रेस हो ।

कर्णालीमा कांग्रेस छाडेकाको बाहुल्य 
कर्णालीका नौ जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्व चुनिएको छ । डोल्पामा अधिवेशन हुन बाँकी छ । कालीकोटका सभापति प्रेमबहादुर केसी राप्रपा र कांग्रेस हुँदै रास्वपा प्रवेश गरेका हुन् । सल्यानका सभापति प्रकाश नेपाली एमाले र नेकपा (साबिक एकीकृत समाजवादी) हुँदै रास्वपामा प्रवेश गरेर नेतृत्वमा पुगेका छन् । सुर्खेतका सभापति रमेशकुमार सापकोटाको राजनीतिक पृष्ठभूमि कांग्रेस हो । दैलेखका सभापति बखतबहादुर भण्डारी पेसाले शिक्षक थिए । कांग्रेसबाट राजनीति गरेका उनी माओवादी हुँदै रास्वपा प्रवेश गरेर नेतृत्वमा पुगेका हुन् । रुकुम पश्चिमका सभापति द्रोण खड्काको राजनीतिक पृष्ठभूमि पूर्वमाओवादी हो । जुम्लाका सभापति मकरबहादुर भण्डारी पूर्वकर्मचारी हुन् । एमालेबाट राजनीति सुरु गरेका उनी माओवादी हुँदै रास्वपा प्रवेश गरेर नेतृत्वमा पुगेका छन् । जाजरकोटका सभापति महेश सिंहको राजनीतिक पृष्ठभूमि कांग्रेस हो । हुम्लाका सभापति लक्ष्मण ऐडीको राजनीतिक पृष्ठभूमि पनि कांग्रेस नै हो । मुगुका सभापति बिर्खबहादुर मल्ल कांग्रेसबाट आएका हुन् ।

सुदूरपश्चिममा रास्वपाबाटै राजनीति गरेका जिल्ला नेतृत्वमा 
सुदूरपश्चिमका नौवटै जिल्लामा अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ । बझाङका सभापति सत्यराज उपाध्याय एमालेबाट राजनीति सुरु गरेका थिए । अछामका सभापति ओमप्रकाश रावल, डडेल्धुराका सभापति सुरेन्द्र अवस्थी, कैलालीका सभापति कवीन्द्र ठगुन्ना, डोटीका सभापति केशव बलायरले भने रास्वपाबाटै राजनीति थालेका हुन् ।

कञ्चनपुरका सभापति पदम विष्ट एमालेको राजनीतिबाट उदाएर रास्वपा प्रवेश गरी नेतृत्वमा पुगेका हुन् । दार्चुलाका सभापति राजेन्द्रसिंह सामन्तको राजनीतिक पृष्ठभूमि कांग्रेस हो । बाजुराका सभापति नवराज जैशीले विभिन्न दल बदल्दै रास्वपामा आएर नेतृत्वमा पुगेका छन् । उनी पहिला कांग्रेस, त्यसपछि माओवादी, एमाले र समाजवादी हुँदै रास्वपामा आएका हुन् । बैतडीका सभापति भीम नाथको राजनीतिक पृष्ठभूमि कांग्रेस हो ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न
रास्वपाको प्रदेश अधिवेशन धमाधम हुँदै छ । कोशी, बागमती र गण्डकी प्रदेश सभापति चयन भइसकेका छन् । मधेश प्रदेश अधिवेशन भने महाधिवेशन पडाडि हुने भएको छ । कोशीमा चन्द्र राई, बागमतीमा उत्सव अर्याल र गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी भएका छन् । केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार मधेश प्रदेशमा स्थगितजस्तै छ । बागमती, गण्डकी र लुम्बिनीको प्रदेश अधिवेशन शनिबार भएको छ । लुम्बिनीमा मतगणना जारी छ । बागमती र गण्डकीमा सभापति निर्वाचित भएर पदाधिकारी चुनिएका छन् । कर्णालीको आइतबार र सुदूरपश्चिम प्रदेश अधिवेशन सोमबार हुँदै छ ।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटी भन्छन्–

पार्टीको प्रथम महाधिवेशनको तयारी लगभग भयो । प्रतिनिधिको जिल्लाबाट फाइलहरू आउँदै छन् । ६ सयभन्दा बढी पालिका  ६५ जिल्ला अधिवेशन भयो । बाँकी १२ जिल्ला अधिवेशन महाधिवेशनपछि हुन्छ । चितवनमा हुने महाधिवेशनमा तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान छ । महाधिवेशनलाई चाहिने आर्थिक व्यवस्थापनका लागि फन्ड रेजिङ टिमले काम गरिरहेको छ । महाधिवेशनका लागि करिब चार करोड अनुमानित खर्च स्टिमेट गरिएको छ । सांगठनिक, राजनीतिक, आर्थिक प्रतिवेदन लेखनको तयारी भइरहेको छ । 

See More On

सुझावित समाचार