रास्वपा बागमतीको सभापतिमा मकवानपुरका उत्सव अर्याल विजयी

नवनिर्वाचित सभापति उत्सव​​​​​​​ अर्यालले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई मात्र दुई मतले पराजित गरे

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नयाँ सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । अत्यन्त प्रतिस्पर्धात्मक निर्वाचनमा अर्यालले निवर्तमान सभापति डा. अच्युतम लामिछानेलाई मात्र दुई मतले पराजित गरेका हुन् ।

शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा. लामिछानेले ४१४ मत प्राप्त गरेका छन् । रास्वपाले पहिलोपटक बागमती प्रदेशको नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन (इभिएम) प्रयोग गरेको थियो ।

जेठ २६ मा मतदाता नामावली, समायोजन सूची र निर्वाचन व्यवस्थापनलाई लिएर विवाद भएपछि स्थगित गरिएको निर्वाचन शनिबार पुनः सञ्चालन गरिएको थियो । रास्वपाले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको थियो । १३ जिल्लाबाट करिब एक हजार दुई सय प्रतिनिधि सहभागी भएको अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएसँगै विवाद उत्पन्न भएको थियो ।

मतदाता नामावली, समायोजन सूची तथा उम्मेदवारहरूको विवरणलाई लिएर प्रतिनिधिहरूले असन्तुष्टि जनाएपछि मतदान प्रक्रिया स्थगित गरिएको थियो । त्यसपछि केन्द्रीय निर्वाचन आयोगले प्राविधिक सुधार, मतदाता प्रमाणीकरण तथा व्यवस्थापकीय तयारी पूरा गरेर पुनः निर्वाचनको मिति घोषणा गरेको थियो ।

५१ प्रतिशत मतसहित निर्वाचित

रास्वपाको विधानअनुसार प्रदेश सभापतिमा निर्वाचित हुन कुल सदर मतको कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । निर्वाचन समितिका अनुसार अर्यालले आवश्यक मत प्रतिशत हासिल गरेपछि उनी प्रत्यक्ष रूपमा सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति पदका लागि प्रारम्भिक रूपमा पाँचजनाले उम्मेदवारी दिएका थिए। तर, अन्तिम नामावली प्रकाशनअघि प्रतिनिधिसभा सदस्य बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धा चारजनामा सीमित भएको थियो ।

निर्वाचनमा निवर्तमान सभापति तथा नुवाकोट– २ का प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछाने, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर (एचबी) खत्री प्रतिस्पर्धामा थिए । पहिलो चरणको मतदानपछि अन्ततः अर्याल र लामिछानेबिच मुख्य प्रतिस्पर्धा केन्द्रित भएको थियो ।

सदस्य चयन सम्पन्न, बाँकी पदाधिकारी दोस्रो चरणबाट

निर्वाचन समितिका अनुसार पहिलो चरणको निर्वाचनबाट सभापति र प्रदेश सदस्यहरूको चयन भइसकेको छ । अब दोस्रो चरणको निर्वाचनमार्फत उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्तालगायत अन्य पदाधिकारीहरूको टुंगो लगाइनेछ ।

रास्वपाको विधानअनुसार प्रदेश कार्यसमिति ६५ सदस्यीय हुनेछ । कार्यसमितिमा सभापतिसहित विभिन्न पदाधिकारी र समावेशी प्रतिनिधित्वका आधारमा सदस्यहरू रहने व्यवस्था छ ।

केन्द्रीय संगठन विभागका उपप्रमुख कृष्णमान श्रेष्ठले सभापति पदको निर्वाचन सम्पन्न भए पनि अन्य पदाधिकारीहरूको चयन दोस्रो चरणको निर्वाचनबाट हुने जानकारी दिए।

सुझावित समाचार