नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा काठमाडौंमा कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा द्विपक्षीय सहकार्यका सम्भावनाहरूबारे केन्द्रित विशेष सत्र आयोजना गरेको छ। ‘उदीयमान प्रविधिहरूमा भारत–नेपाल साझेदारी : एआई सहकार्यका लागि अवसरहरूको अन्वेषण’ शीर्षकमा आयोजित कार्यक्रममा व्यवसाय, सरकार, प्राज्ञिक तथा प्रविधि क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा दक्षिण एसियामा फुल-स्ट्याक जेनेरेटिभ एआई र स्थानीय भाषामा आधारित प्रणाली विकास गर्दै आएको सर्वम एआईका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. प्रत्यूष कुमारले मुख्य सम्बोधन गरेका थिए। कार्यक्रममा सहभागी हुनुअघि उनले नेपालका डाटा वर्ल्ड, बिचुटेन, गोल्छा इन्डस्ट्रिज, स्पार्क ग्रुप र स्प्यारो एसएमएसका प्रतिनिधिहरूसँग डिजिटल पूर्वाधार, एआई र उदीयमान प्रविधिमा सहकार्यका अवसरबारे छलफल गरेका थिए।
निक्कीका अध्यक्ष सुनील केसीले कार्यक्रम उद्घाटन गर्दै नेपाल–भारतिबच प्रविधिमा आधारित आर्थिक सहकार्य विस्तार गर्न आवश्यक रहेको बताए। उनले सर्वम एआईलाई नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न र सार्वजनिक तथा निजी क्षेत्रसँग सहकार्य अघि बढाउन आग्रह गरे। यस्ता सहकार्यले नवप्रवर्तन, ज्ञान हस्तान्तरण र रणनीतिक प्रविधि साझेदारीमार्फत प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।
नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले डिजिटल क्षमता अभिवृद्धि, स्टार्टअप प्रवर्द्धन र उदीयमान प्रविधिमा ज्ञान आदानप्रदानका क्षेत्रमा भारत र नेपालबिच साझा चासो रहेको बताए। उनले एआई र नवप्रवर्तनमा द्विपक्षीय सहकार्यलाई निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।
मुख्य वक्ता कुमारले फुल-स्ट्याक जेनेरेटिभ एआईको विकास र यसको प्रभावबारे प्रकाश पार्दै एआईको प्रयोग केवल उपभोक्ताका रूपमा सीमित नराखी आफ्नै आवश्यकताअनुसार प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। उनले दक्षिण एसियाको भाषिक तथा सांस्कृतिक सन्दर्भअनुसार स्थानीय भाषामा आधारित एआई प्रणाली विकासको आवश्यकता औँल्याए।
उनले प्रतिभा विकास, अनुसन्धान पूर्वाधार र नीतिगत सहयोगसहितको भारतको एआई इकोसिस्टमलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालजस्ता देशहरूका लागि स्थानीय भाषामा आधारित प्रविधि, जिम्मेवार एआई अभ्यास र आन्तरिक जनशक्ति विकासमा ध्यान दिन सुझाव दिए।
नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दुनाथ लोहनीले एआई युगका लागि आवश्यक जनशक्ति उत्पादनमा उच्च शिक्षाको भूमिकामाथि प्रकाश पारे। उनले प्राज्ञिक संस्था र उद्योगबिच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले व्यवसायमा एआईको प्रयोग, प्रतिभा विकास, एआई शासन, स्थानीय भाषामा प्रविधि विकास तथा क्षेत्रीय सहकार्यका विषयमा प्रश्न तथा धारणा राखेका थिए।
निक्कीको स्टार्टअप तथा प्राइभेट इक्विटी कमिटीका सहसंयोजक दिलीप भट्टराईले धन्यवाद ज्ञापन गर्दै यस्ता संवादले क्षेत्रीय सहकार्यलाई बलियो बनाउने बताए। निक्कीका निर्देशक मार्सल राठौरले दुवै देशका व्यवसाय, सरकार र प्रविधि समुदायलाई जोड्ने प्लाटफर्म निर्माणमा संघ प्रतिबद्ध रहेको उल्लेख गरे।