प्रधानमन्त्रीको अभिव्यक्तिबारे अभिलेख सच्याउन सांसद बरालकाे माग

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले नेपाल–भारत सीमासम्बन्धी विषयमा संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

शुक्रबार  प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै  बरालले नेपाल र भारतबिच करिब एक हजार ८८० किलोमिटर लामो सीमा रहेको तथा सीमा निर्धारणका लागि आठ हजार ५५३ वटा सीमास्तम्भ कायम रहेको तथ्य उल्लेख गर्दै यस विषयमा स्पष्टता हुँदाहुँदै प्रधानमन्त्रीले संसदमा नेपालले भारतको सीमा मिचेको छ भन्ने आशयको अभिव्यक्ति अभिलेखमा राखेको आरोप लगाए।

उनले उक्त अभिव्यक्ति संसदीय अभिलेखबाट नहटाइए ऐतिहासिक तथ्यका रूपमा रहिरहने भन्दै अभिलेख सच्याउन सरकारसँग माग गरे। साथै, प्रधानमन्त्रीले दिएको जवाफको जिम्मेवारी अन्य व्यक्तिले बहन गर्न नसक्ने उल्लेख गर्दै परराष्ट्रमन्त्रीले सार्वजनिक रूपमा दिएको स्पष्टीकरण मात्र पर्याप्त नहुने धारणा व्यक्त गरे।

बरालले नेपाल–भारत सीमा विवाद ऐतिहासिक रूपमा तथ्य र प्रमाणमा आधारित रहेको बताउँदै विशेषगरी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भूभाग भएको दाबी दोहोर्याए। उनले नेपालका मन्त्री चीन भ्रमणमा जाने क्रममा त्रिदेशीय क्षेत्र टिंकर भन्ञ्याङ र लिम्पियाधुरामा रहेको पहिलो सीमास्तम्भ पिलर नम्बर १ सम्बन्धी विषयमा पनि सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरे।

उनको भनाइमा सीमासम्बन्धी संवेदनशील विषयमा सरकारका आधिकारिक अभिव्यक्ति तथ्यमा आधारित र राष्ट्रिय हितअनुकूल हुन आवश्यक छ।

सुझावित समाचार