एसियाली महारथी दक्षिण कोरियाले फिफा विश्वकप फुटबल २०२६ को आफ्नो पहिलो खेलमै कमब्याक जित निकालेको छ । शुक्रबार बिहान मेक्सिकोमै भएको २३औँ संस्करणको दोस्रो खेलमा कोरियाले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेक गणतन्त्रलाई २–१ ले हरायो।
कोरियाको जितमा ह्वाङ इन बिओम र ओह हेयोन–ग्युले गोल गरेका हुन्। चेकका लागि लाडिस्लाभ क्रेजकीले अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा तीनै गोल भएका थिए। अधिकांश समय दबाबमा राखेपछि कोरियाले खेल जित्न संघर्ष गर्नुपरेको थियो।
खेलको पहिलो गोल ५९औँ मिनेटमा निस्कियो । कप्तान लाडिस्लाभ क्रेजकीले पहिलो गोल गरेका थिए। तर, चेक गणतन्त्रको त्यो अग्रता लामो समय टिक्न सकेन। ६७औँ मिनेटमै दक्षिण कोरियाका बिओमले बराबरी गोल फर्काएका थिए। ८०औँ मिनेटमा वैकल्पिक खेलाडी ओह हेयोन–ग्युले विजयी गोल गरेका हुन् । दोस्रो हाफमा चेकका टोमस सौसेकले गोल गरेपछि त्यसलाई सहायक रेफ्रीले अफसाइड घोषणा गरिदिए।
यो खेलसँगै समूह ‘ए’मा रहेका चारवटै टोलीले समान एक खेल खेलेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराएको थियो। धेरै गोल गरेको आधारमा मेक्सिको समान तीन अंक भए पनि शीर्ष स्थानमा छ । कोरिया दोस्रो स्थानमा रह्यो। चेक गणतन्त्र र दक्षिण अफ्रिकाले भने खाता खोल्न सकेका छैनन्।
अब, समूहको दोस्रो खेलमा मेक्सिकोले बिहीबार दक्षिण कोरियासँग खेल्नेछ। सोही दिन दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग प्रतिस्पर्धा गर्ने तालिका छ।