विश्वकपका आधा टिकट अझै बिकेनन्

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । यसपटक अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका छन् । आयोजक तथा फिफाको प्रमुख उद्देश्य उत्कृष्ट प्रतियोगिता आयोजना गर्नुका साथै लाखौँ समर्थक रंगशाला आऊन् भन्ने हो । अर्को अर्थमा विश्वकप आयोजनाबाट प्राप्त हुने आम्दानीको धेरै हिस्सा टिकट बिक्रीमा रहेको हुन्छ । यसकारण उनीहरू प्रत्येक खेलमा रंगशाला भरिभराउ भएको हेर्न चाहन्छन् ।

तर, यसपटक विश्वकपमा यस्तो हुनेछैन । विश्वकप सुरु भइसक्दा पनि शतप्रतिशत टिकट बिक्री भएको छैन । केही समयअघि फिफाले विश्वकपका सबै टिकट बिक्री भएको दाबी गरेको थियो । तर, अहिले बेलायती तथा अमेरिकी समाचार संस्थाहरूले टिकट बिक्री सोचेजस्तो नभएको दाबी गरिरहेका छन् । उनीहरूले फिफाको दाबी समर्थकलाई भ्रम फैलाउनेका रूपमा रहेको जनाएका छन् । न्युयोर्क टाइम्सका अनुसार समग्रमा एक लाख ८० हजार टिकट बिक्रीमा छ । 

गत साता अमेरिकामा भएको एउटा कार्यक्रममा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपका सबै खेलका टिकट बिक्री भइसकेको बताएका थिए । अनलाइनमा अझै पनि आधाभन्दा बढी खेलका हजारौँ टिकट सहजै उपलब्ध छ । सुरुमा फिफाले आधिकारिक रूपमा विश्वकपका टिकट आफ्नै साइटबाट बिक्री हुने जनाएको थियो । तर, फिफाले आफूबाट सबै टिकट बेच्न नसक्दा गोप्य रूपमा अन्य निजी कम्पनीलाई टिकट बिक्रीको अधिकार दिएको छ । 

चर्को मूल्यमा टिकट
सहज रूपमा टिकट पाइरहे पनि समर्थकहरू किन्न तयार छैनन् । यसको एउटै कारण हो फिफा र आयोजकले आफूखुसी टिकटको मूल्य बढाएका छन् । विशेषगरी महत्वपूर्ण वा हेभिवेट खेलका टिकटको मूल्य सामान्य छैन । दक्षिण अफ्रिका र मेक्सिकोबिचको उद्घाटन खेलको सामान्य टिकट मूल्य नै दुई हजार २७३ अमेरिकी डलर राखिएको छ । यो केवल एउटा उदाहरण मात्र हो । यसबाहेक समूह चरणमा शीर्ष वरीयता प्राप्तका खेल हेर्न योभन्दा बढी मूल्य तिर्नुपर्छ । 

‘यसपटक चाहेर पनि प्रतिस्पर्धात्मक खेल हेर्न सकिने अवस्था छैन । ती खेलका टिकट मूल्य चर्को राखिएको छ,’ अमेरिकी एजेन्सीले भनेको छ, ‘यस्तो अवस्थामा रंगशाला आधा खाली हुन सक्छ । यसैगरी, आयोजकले रंगशाला खाली हुने अवस्था आउँदा कम रेटिङ भएको खेलको टिकट मूल्य घटाइएको छ । जस्तो कि जोर्डन र अल्जेरियाबिचको खेलको सुरुवाती मूल्य ६२० अमेरिकी डलर थियो । तर, अहिले सहज रूपमा १७१ अमेकिरी डलरमा पाउन सकिन्छ । तर, समर्थक भने बढी रेटिङ भएको खेल हेर्न रुचाउँछन् । उनीहरू चर्को मूल्य खर्चेर खेल हेर्न चाहँदैन । यसैगरी चेक रिपब्लिक र दक्षिण अफ्रिकाबिचको खेलको टिकट मूल्य आधा घटेको छ । पहिले ३४२ अमेरिकी डलरमा पाउने टिकट अब १९० डलरमा पाइन्छ । 

क्यानडा र मेक्सिकोमा भन्दा अमेरिकामा महँगो
मुख्य आयोजकका रूपमा अमेरिकाले विश्वकपका धेरै खेल आयोजना गर्छ । यहाँ नै क्वार्टरफाइनलदेखि फाइनलसम्मका खेल हुनेछन् । आयोजक अमेरिका यसको भरपूर फाइदा लिने प्रयासमा रहँदा टिकट सोचेजस्तो बिक्री भइरहेको छैन । अमेरिकाले आफ्ना सबै खेलको टिकट मूल्य २५ सय अमेरिकी डलर राखेको छ । अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेको सामना गर्नेछ । यस खेलको टिकट मूल्य दुई हजार ७३५ अमेरिकी डलर रहेको छ । सन् २०२२ मा कतारद्वारा आयोजित विश्वकप फाइनलको सस्तो टिकट नै एक हजार १२० अमेरिकी डलर थियो ।

See More On

सुझावित समाचार