इटहरीमा भव्य सम्मेलन केन्द्र बन्ने भएको छ । एकैपटक चार हजार मानिस अटाउने क्षमताको एबी हस्पिटालिटी (विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर) बन्ने पक्का भएको हो। अन्तर्राष्ट्रियस्तरको यस सम्मेलन केन्द्र निर्माणसँगै पूर्वीनेपाल मात्रै नभई सिंगाे नेपालकै पर्यटन तथा आतिथ्यता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास गरिएको छ।
पायाेनियर होटेल व्यवसायीका रूपमा उदाएका देशबन्धु बस्नेत (अजित)ले ‘ड्रिम प्रोजेक्ट’का रूपमा लिएको एबी हस्पिटालिटी निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम सम्पन्न भएको छ । यस प्रोजेक्टको वित्तीय व्यवस्थापनमा एभरेस्ट बैंक लिमिटेडले नेतृत्व लिएको छ । यसमा मुक्तिनाथ विकास बैंकको सहकार्य रहनेछ।
एबी इन्भेस्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतले नै यस परियोजनाको पनि नेतृत्व गर्नेछन् । बस्नेतले गत वर्ष मात्रै काठमाडौँमा अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड ‘मक्र्योर’ भित्र्याएका थिए भने हालै मात्रै इटहरीमै ‘रमडा बाई विन्डम’ सञ्चालनमा ल्याइसकेका छन् । दुईवटा अन्तर्राष्ट्रिय पाँचतारे होटेल चलाइरहेका बस्नेतले इटहरीमा नै रिसोर्टसहितको अन्तर्राष्ट्रियस्तरको कन्भेन्सन सेन्टर बनाउन लागेका हुन् । बस्नेत नेतृत्वमा अघि बढ्ने यो प्रोजेक्ट उनको तेस्रो अन्तर्राष्ट्रियस्तरको परियोजना हो ।
यो परियोजनाले पूर्वीनेपाललाई पर्यटन, व्यावसायिक कार्यक्रम, वेडिङ डेस्टिनेसन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । यसबाट पूर्वीनेपालका इलाम, कञ्चनचङ्घा, चतराधाम, बराहक्षेत्र, कोशी टापु, भेडेटारजस्ता गन्तव्यको विश्वस्तरमा प्रचार हुनुका साथै नयाँनयाँ गन्तव्यको पहिचान र विकासमा समेत योगदान पुग्ने देखिएको छ ।
अहिले भारतीय पर्यटकहरू घुमफिर र विवाह समारोहका लागि समेत नेपाल आउने गरेका छन् । रिसोर्टसहितको उक्त सम्मेलन गर्न निर्माण भएपछि त्यस्ता भारतीय पर्यटकको आगमन झन् बढ्ने अपेक्षा गरिएको बस्नेतले बताएका छन् । साथै, दक्षिण एसियाली देशहरूबाट हुने अन्तर्राष्ट्रिय समारोह तथा सम्मेलनका लागि समेत उक्त सम्मेलन केन्द्र उपयुक्त हुने देखिएको छ ।
इटहरीमा बन्ने यो परियोजना विराटनगर–इटहरी–धरान आर्थिक तथा टुरिजम करिडोरलाई नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन सोचको उपलब्धि हो । बस्नेतले पनि भारत, भुटान र बंगलादेशबाट बढ्दो पर्यटक तथा व्यावसायिक आवागमन, सुधार हुँदै गएको पूर्वाधार तथा पर्यटन सम्भावनाले पूर्वीनेपाललाई दक्षिण एसियाकै नवीनतम पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले बैंकिङ साझेदार, लगानीकर्ता, परामर्शदातासहित सरकारी निकायहरूप्रति आभार व्यक्त गर्दै यो परियोजना केवल एउटा होटेल वा कन्भेन्सन सेन्टर मात्रै नभई पूर्वीनेपालको आर्थिक विकास, रोजगारी सिर्जना, निजी क्षेत्रको लगानी विस्तार तथा पर्यटन उद्योगको समग्र रूपान्तरणको आधारस्तम्भ बन्ने विश्वास व्यक्त गरेका छन् । उक्त परियोजना सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको खपत बढाउने र स्थानीय अर्थतन्त्रको शृंखलामा नै सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
पूर्वीनेपाललाई भारत, भुटान र बंगलादेशलाई जोड्ने पर्यटन तथा व्यावसायिक प्रवेशद्वारका रूपमा विकास गर्ने अभियानअन्तर्गत एबी हस्पिटालिटी (विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर) निर्माणको थालनी भएको र यस अभियानमा यो परियोजना कोसेढुंगा साबित हुने प्रोजेक्टका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीले बताएका छन् ।