बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाल र शरद ओझाविरुद्ध बिमा कसुरको मुद्दा दायर भएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार तत्कालीन अध्यक्षद्वय ओझा र दाहालसहित ४३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
नियामकीय अधिकारको दुरुपयोग गरेर गैरकानुनी कार्य गरेको अभियोग ओझा र दाहालमाथि लगाइएको छ। बिमासम्बन्धी कसुर गरेर हानीनोक्सानी गरेको दाबी मुद्दामा गरिएको छ।
दाहाल हाल सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव हुन्। ओझालाई भने केही महिनाअघि सरकारले नै हटाएको थियो। कार्यसम्पादनमा चित्त नबुझेको भन्दै स्पष्टीकरण सोधेर उनलाई हटाइएको थियो।
उनीहरूलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पनि प्रतिवादी बनाइएको छ।