जिल्ला प्रशासन कार्यालय काठमाडौँले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सार्वजनिक रूपमा ठूलो पर्दामा देखाउन वा सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने संघसंस्था तथा कम्पनीहरूले अब अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ।
कार्यालयले बिहीबार जारी गरेको सूचनामा काठमाडौं जिल्लाभित्र कुनै पनि संस्था वा व्यवसायले सार्वजनिक स्थानमा खेल प्रदर्शन गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने स्पष्ट गरिएको छ। अनुमति बिना रातिको समयमा ठूलो पर्दामा खेल देखाउने, भीडभाड गराउने वा समुदायमा असर पर्ने गतिविधि गर्न नपाइने चेतावनी पनि दिइएको छ।
प्रशासनका अनुसार यस्ता गतिविधिले शान्ति–सुरक्षा, भीड व्यवस्थापन तथा सार्वजनिक व्यवस्थामा चुनौती सिर्जना गर्न सक्ने भएकाले नियमन आवश्यक भएको हो।
अनुमति लिनका लागि आवश्यक निवेदन ढाँचा जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा उपलब्ध रहनेछ। निवेदन प्राप्त भएपछि कार्यक्रम स्थल, सम्भावित भीड व्यवस्थापन, सुरक्षा संवेदनशीलता र अन्य पक्षहरूको मूल्याङ्कन गरी स्वीकृति प्रदान गरिने कार्यालयले जनाएको छ।
स्वीकृति बिना सार्वजनिक प्रदर्शन वा भिडभाड हुने गतिविधि सञ्चालन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने पनि प्रशासनले चेतावनी दिएको छ।
विश्वकपका खेलहरू सार्वजनिक स्थल, होटल, रेस्टुरेन्ट, क्लब तथा अन्य व्यवसायिक स्थानमा सामूहिक रूपमा प्रदर्शन गर्ने चलन बढ्दै गएको सन्दर्भमा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।
