शक्तिशाली सरकारको कमजोर र दिशाहीन बजेट : पद्मा अर्याल

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

नेकपा एमालेकी सांसद पद्मा अर्यालले चालू आर्थिक वर्षमा शक्तिशाली सरकारले ल्याएको बजेट कमजोर रहेको टिप्पणी गरेकी छिन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विनियोजित बजेटमाथिको छलफल कार्यक्रममा सहभागी हुँदै सांसद अर्यालले अर्थतन्त्रले शिथिलता र संकुचनको सामना गरिरहेको वर्तमान अवस्थामा आमनागरिक र निजी क्षेत्रले बजेटबाट ठुलो अपेक्षा राखेको भए पनि प्रस्तुत बजेटले त्यो अपेक्षा पूरा गर्न नसकेको बताइन् । 

अर्यालले शक्तिशाली सरकारले ल्याएको बजेटलाई कमजोर र दिशाहीन भन्दै आलोचना गरिन्। बजेट केवल वार्षिक आय–व्ययको कर्मकाण्डी विवरण मात्र नभई आगामी पाँच वर्ष देशलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट मार्गचित्र हुनुपर्ने भन्दै उनले   बजेटमा त्यसकाे अभाव देखिएको उल्लेख गरिन् । 

उनले नीति तथा कार्यक्रम र बजेटबिच तालमेल नभएको भन्दै दुवै फरक दिशामा अघि बढिरहेको टिप्पणी गरिन्। राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा करिब १२ प्रतिशत बढी आकारको बजेट ल्याइनु अनुत्पादक र ठुलो बजेट भएको उनको भनाइ छ।

अर्यालले अर्थतन्त्र भावनात्मक वा बल प्रयोगले नभई मनोवैज्ञानिक रूपमा चल्ने भएकाले नीतिगत स्पष्टता आवश्यक रहेको पनि बताइन्। गणतन्त्र पछिका नौवटा बजेटको समीक्षा गर्दा वर्तमान सरकारले अझै पनि नेपालको अर्थतन्त्रको आधारभूत चरित्र बुझ्न नसकेको उनको दाबी छ।

उधारो असुल्ने ऐन, सहकारीमार्फत पुँजी परिचालन गर्ने संकल्प तथा पेपरलेस सरकारको अवधारणा सकारात्मक रहेको भन्दै ती विगतका सरकारका निरन्तरताका रूपमा रहेको उल्लेख गरिन्।

त्यसैगरी, ९९ प्रतिशत जनतामा विद्युत् पहुँच, ९७ प्रतिशतमा खानेपानी सुविधा, ९७.८ प्रतिशत बालबालिका विद्यालय भर्ना तथा ५६ प्रतिशत माध्यमिक तहसम्मको पहुँचजस्ता तथ्यांकले विगतमा विकास नभएको भन्ने भाष्यलाई खण्डन गरेको भन्दै उनले सरकारलाई धन्यवाद पनि दिइन्।

सुझावित समाचार