सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। बिहीबार सदनमा बोल्दै महरले जेठ १७ गते प्रधानमन्त्रीले संसदमा आएर दिएको अभिव्यक्तिले दुईवटा गम्भीर प्रश्न सिर्जना गरेको बताए।
जनताले विश्वासका साथ आफूहरूलाई संसदमा पठाएको उल्लेख गर्दै उनले अहिले जनताले संसद् र सांसदहरूमाथि नै गम्भीर प्रश्न उठाइरहेको बताए।
उनले विश्वका कुनै पनि सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले राष्ट्रहितविपरीत र देशद्रोही ठानिने अभिव्यक्ति दिँदा त्यसमा ताली बजाउने सांसद को हुन् भन्ने प्रश्न जनस्तरबाट उठिरहेको दाबी गरे। यस्तो अवस्थाले आफूहरूलाई दुःखी, गम्भीर र लज्जित बनाएको उनको भनाइ थियो।
महरले सरकारका पछिल्ला क्रियाकलाप र गतिविधिहरू सामान्य नरहेको टिप्पणी गर्दै संसद् र सरकार दुवैले जनताको विश्वास जोगाउने गरी जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने आवश्यकता औँल्याए।