दुई राष्ट्र लगातार तीनपटक फाइनलमा
विश्वकप इतिहासमा जर्मनी र ब्राजिलले लगातार तीनपटक विश्वकप फाइनल खेलेर रेकर्ड बनाएका छन् । सन् १९८२ देखि १९९० सम्म जर्मनीले विश्वकप फाइनल खेलेको थियो । सन् १९९० को विश्वकप फाइनलमा जर्मनीले अर्जेन्टिनालाई १–० ले हराउँदै उपाधि हात पारेको थियो । एकीकरण हुनुअघि तत्कालीन पश्चिम जर्मनीले लगातार तीनपटक फाइनल खेलेको थियो । यसैगरी, ब्राजिलले सन् १९९४ देखि २००२ सम्म फाइनलमा स्थान बनायो । सन् १९९४ को विश्वकप फाइनलमा ब्राजिलले इटालीलाई हराएको थियो । सन् १९९८ को फाइनलमा ब्राजिल आयोजक फ्रान्सबाट पराजित भयो । सन् २००२ को विश्वकप फाइनलमा ब्राजिलले जर्मनीलाई पाखा लगाउँदै कीर्तिमानी रूपमा पाँचौँपटक विश्वकप ट्रफी उचाल्यो ।
फाइनलमा दुईवटा बल प्रयोग
उरुग्वेले सन् १९३० को विश्वकप आयोजना गरेको थियो । पहिलो संस्करणको विश्वकप फाइनलमा दक्षिण अमेरिकी चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिना र उरुग्वेबिच खेल भएको थियो । रमाइलो के छ भने पहिलो संस्करणको उपाधि भिडन्तमा पहिलो तथा दोस्रो हाफमा अफिसियलले दुई फरक बल प्रयोग गराएका थिए । पहिलो हाफमा अर्जेन्टिनाले रोजेको बल खेलाइएको थियो । त्यसपछि दोस्रो हाफमा उरुग्वेले छानेको बल प्रयोग भयो । उरुग्वेले अर्जेन्टिनालाई हराउँदै पहिलोपटक विश्व च्याम्पियन ट्रफी उचाल्यो । त्यसयता विश्वकपको फाइनलमा यस्तो घटना भएको छैन ।
एकै संस्करणमा पश्चिम जर्मनीको धेरै गोल
सन् १९५४ को विश्वकपमा पश्चिम जर्मनीले आफ्नो नाममा गजबको रेकर्ड राखेको थियो । सो विश्वकपमा पश्चिम जर्मनीले यस्तो आक्रामक र काउन्टर खेल खेल्यो, जसको उत्तर विपक्षी डिफेन्डर र गोलरक्षकसमक्ष थिएन । तत्कालीन समयमा पश्चिम जर्मनीले विश्व फुटबलमै एट्याकिङ रणनीति अपनाएको थियो । खेलको सुरुदेखि नै गोल गर्ने नीति अपनाउँदै विपक्षी पोस्टमा गोल गर्न सफल भयो । यसै नीतिका कारण पश्चिम जर्मनीले विश्वकप ट्रफी उचाल्दासम्म सर्वाधिक २५ गोल गर्यो । जर्मनीको यो रेकर्ड अहिलेसम्म तोडिएको छैन ।