नेपाल सरकारका पूर्वसचिव शंकर कोइरालालाई ३ प्रश्न

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

निजामती ऐनमै व्यवस्था गरी साढे १५ हजार कर्मचारीलाई अवकाश दिने सरकारको योजना कस्तो छ ?
एकैचोटि यति ठुलो संख्याका कर्मचारी कटौती गर्दा उनीहरूले पाउने सेवा, सुविधाको पैसा पनि दिएर बिदा गर्नुपर्छ । स्रोतको कमी भइरहेको वेलामा राज्यले त्यो व्यहोर्न सक्छ कि सक्दैन ? यसरी बिदा गर्दा केही राम्रा, योग्य र अत्यावश्यक कर्मचारी पनि पर्न सक्छन्, त्यसतर्फ पनि सोच्नुपर्छ । नेपालीको सरदर आयु बढेको र ६० वर्षे उमेरहद प्रस्ताव गरेको समयमा ५५ वर्षमै अवकाशमा पठाउनु कति जायज हुन्छ, त्यसतर्फ पनि सोच्नुपर्छ । सरकारले राम्रै नियतले काम गर्न खोज्दा समर्थन नगर्ने होइन, हामीले समर्थन गर्नुपर्छ । तर, सम्भावनासँगै जोखिम पनि छ भन्ने बुझेर सरकारले त्यसलाई सम्बोधन गर्ने उपाय पनि ल्याउनुपर्छ । नयाँलाई अवसर दिँदै गर्दा अनुभवीको पनि खाँचो पर्न सक्छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।

निजामती कर्मचारी प्रशासनमा कस्तो सुधारको खाँचो छ ? 
अहिले सेवा प्रवाह गर्नुपर्ने स्थानीय तह, जिल्ला र प्रदेशमा कर्मचारीको अभाव छ । संघमा कर्मचारी बढी भएको यथार्थ हो । तिनलाई अभाव भएको स्थानमा ‘मोटिभेट’ गरेर पठाउन सके राम्रो हुन्छ । कतिपय कार्यालय खारेज र कतिपय कार्यालयको कर्मचारी संख्यालाई ‘डाउन साइजिङ’ गर्न सकिन्छ । दुर्गममा कर्मचारी पठाउँदा वृत्तिविकासको निश्चित अवसर या आर्थिक ‘मोटिभेसन’ पनि दिनुपर्ने हुन सक्छ । 

यस्तो अवकाश व्यवस्थाका फाइदा र बेफाइदा पनि त होलान् नि ?
पक्कै पनि यसरी एकसाथ हजारौँ कर्मचारी कटौती गर्दा राज्यलाई केही फाइदा र केही बेफाइदा त हुने नै भए । तर, त्यसको ‘रिजल्ट’ नहेरी अहिले नै भन्न सकिन्न । अहिलेलाई सरकारले असल नियतले गर्न लागेको यस्तो व्यवस्था सफल होस्, यसले सकारात्मक परिणाम दिन सकोस् भन्ने कामना गर्नु ठिक हुन्छ । 

सुझावित समाचार