बिचौलिया दीपक भट्ट र शंकर समूहसँग सम्बन्धित विभिन्न आर्थिक अपचलनका विषयमा एकैपटक चारवटा मुद्दा दायर गर्ने तयारी भएको छ । सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयले सम्भवतः बिहीबार मुद्दा दायर गर्दै छन् ।
विशेष अदालतमा सम्पत्ति शुद्धीकरण र जिल्ला अदालतमा धितोपत्र कसुर तथा बैंकिङ कसुरको मुद्दा दायर हुन लागेको छ । धितोपत्रको कसुरमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर हुन लागेको छ । विशेष अदालतले भट्ट र सुलभ अग्रवाललाई बुधबारसम्म थुनामा राख्न म्याद दिएको थियो । चारवटै मुद्दामा गरेर सयभन्दा धेरै प्रतिवादी रहेको स्रोत बताउँछ ।
जसमा शंकर ग्रुपका सञ्चालकदेखि शेखर गोल्छा तथा हिमालयन रिइन्स्योरेन्सका सहायक कम्पनीका सञ्चालक र सिइओहरू छन् । नेपालमा धितोपत्र र सम्पत्ति शुद्धीकरणमा यो अहिलेसम्मकै ठुलो मुद्दा हुनेछ । बिहीबार मुद्दा दायर गर्ने गरी गृहकार्य भइरहेको विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी पूर्णेन्द्र पाण्डेय बताउँछन् ।