विश्वकप २०२६ : इरानी समर्थकलाई अमेरिकी रंगशालामा प्रतिबन्ध

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

विश्वकपमा सहभागी इरानविरुद्ध अमेरिका दिनप्रतिदिन कठोर बनिरहेको छ । इरानलाई खेलेकै दिनमा फर्कनुपर्ने नियम जारी गरियो । त्यसपछि रंगशालाभित्र इरानी झन्डा लैजान नपाउने भन्यो । अब अमेरिकाले इरानी समर्थकलाई रंगशालाभित्र प्रवेश निषेधको निर्देशन जारी गरेको छ । जसकारण अमेरिका र इरानको राजनीतिक विवाद फुटबल मैदानमा आएको छ ।

सातौँपटक विश्वकपमा सहभागी इरानले समूह चरणका सबै खेल अमेरिकामै खेल्नेछ । इरानले लस एन्जलसमा दुई तथा सियाटलमा एक खेल खेल्नेछ । यी दुई स्थानका रंगशालामा इरानी समर्थकलाई प्रवेश निषेध गरिएको एजेन्सीले जनाएको छ । यद्यपि, फुटबलको सर्वोच्च निकाय फिफाले सहभागी सबै राष्ट्रलाई रंगशालाको क्षमताअनुसार आठ प्रतिशत टिकट वितरण गरेको छ । नियमअनुसार इरान फुटबल संघले समर्थकलाई टिकट बिक्री गरेको छ ।

अमेरिकाको दबाबपछि इरान फुटबल संघले आफ्ना समर्थकलाई टिकट उपलब्ध गराउन नसक्ने जनाएको छ । इरानले आयोजक राष्ट्र अमेरिकाको नीतिका कारण यस्तो निर्णय लिएको बताएको छ । गत फेब्रुअरीदेखि चलेको अमेरिका, इजरायल र इरानबिचको युद्धको प्रभाव विश्वकपमा परेको छ । इरानी फुटबल संघले अमेरिकाले आफूहरूमाथि ठुलो षड्यन्त्र गरेको दाबी गरेको छ । ‘अमेरिकाले इरानी समर्थकमाथि षड्यन्त्र गरिरहेको छ । फुटबलको सबैभन्दा ठुलो खेलकुद विश्वकपमा राजनीतिक प्रभाव परेको स्पष्ट छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकपमा इरानलाई स्वागत गर्न आफू तयार भएको बताएका थिए । तर, उनले विश्वकप सुरु हुन केही दिनअघि आफ्नो पूर्ववत् भनाइ फेरेका छन् ।

इरानको प्रशिक्षण मेक्सिकोमा
भिसा दिँदा इरानले अमेरिकाको एरिजोनामा अभ्यास गर्ने योजना बनाएको थियो, तर अमेरिकाले आफू असुरक्षित भएको जनाउँदै मेक्सिकोको सीमावर्ती सहर टिजुआनामा प्रशिक्षण गर्न निर्देशन दिएको छ । इरानले विश्वकप खेल्न अमेरिकाका लगभग सबै प्रस्ताव मानेको देखिन्छ । खेल भएकै दिन अमेरिका छाड्नेसम्मका प्रस्ताव इरानले सहजै स्विकारेको छ । अमेरिकाले खेलाडीलाई मात्र भिसा दिएको छ । उसका अफिसियल तथा अधिकारीलाई भिसा दिएको छैन । 

अमेरिकाले विश्वकपको बहानामा इरानका शंकास्पद व्यक्तिहरू आउन सक्ने दाबी गरेको छ । ‘फुटलबको समयमा इरानबाट अफिसियलका नाममा संदिग्ध व्यक्तिहरू छिर्न सक्ने अनुमान छ,’ अमेरिकाले भनेको छ, ‘सबै किसिमको सूचना प्राप्त भएपछि यस्तो निर्णय लिइएको हो ।’ अमेरिकाले इरानलाई मात्र नभएर सोमालियका फिफा रेफ्री आर्टनलाई समेत मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको थियो । यसैगरी, इराकका एक खेलाडी र फोटोग्राफरलाई पनि विमानस्थलमा घण्टौँ केरकार गरेको थियो । 

फिफा अध्यक्ष इन्फाटिनो समर्थकको पक्षमा
इरानका समर्थकहरू रंगशालामा जान नपाउने निर्देशन आउँदा फिफाका अध्यक्ष गिआनी इन्फाटिनोसमेत छक्क परेका छन् । इन्फाटिनोले समर्थकको साथले विश्वकप सफल हुने जनाएका छन् । समर्थकविनाको विश्वकप खल्लो हुने उनको भनाइ छ । ‘समर्थक वा टोलीलाई विश्वकपमा प्रवेश निषेध गरिए त्यो विश्वकप हुँदैन । लोकल प्रतियोगिता हुनेछ,’ इन्फाटिनोले भनेका छन । उनले इरानको फुटबल संघसँग मिलेर समाधान खोजिरहेको बताए । इरानले १५ जुनमा लस एन्जलसमा न्युजिल्यान्ड र २१ जुनमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि २६ जुनमा इजिप्टविरुद्ध सियाटलमा खेल्नेछ ।

होटेल बुकिङ रद्द हुने
आफ्नो राष्ट्रको खेल हेर्नका लागि इरानका समर्थकले लस एन्जलस र सियाटलका होटेलहरू बुक गरिसकेका छन् । अमेरिकाको पछिल्लो निर्णयका कारण इरानी समर्थकले होटेल बुकिङ रद्द गर्नुपर्ने अवस्था आएको छ । यद्यपि, विश्वकपअगाडि नै उनीहरू अमेरिका पुगिसकेका छन् । कतिपय समर्थकले भने खेलको अघिल्लो दिन मात्र लस एन्जलस र सियाटलमा पुग्ने योजना बनाएका थिए । त्यस्ता समर्थक द्विविधामा परेका छन् । अमेरिकाले इरानको फुटबल टोलीलाई प्रतियोगिता सुरु हुनु १० दिनअघि मात्र भिसा दिएको थियो । इरानले विश्वकपका लागि ७० जनाको भिसा आवेदन दिएको थियो । तर, अमेरिकाले इरानका खेलाडी र केही अफिसियललाई मात्र भिसा उपलब्ध गराएको छ ।

सुझावित समाचार