बुधबार १० बजेसम्मका १० मुख्य खबर

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

२४ लाख घुससहित पक्राउ परेका मालपोत प्रमुख र कार्यालय सहयोगीलाई २/२ वर्ष कैद 
२४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका भक्तपुर मालपोतका तत्कालीन प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनीहरूलाई जनही २/२ वर्ष कैद र १२ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ। 

एक साताअघि भएको फैसलामा विशेष अदालतले बुधबार सजाय निर्धारण गरेको हो। उनीहरूलाई अदालतले ५९ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नसमेत भनेको छ। 

प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित स् परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा उल्लेख गर्नुभएको विषय दशगजा अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिएका छन्।

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन अवरोध गरेपछि बुधबार परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको तर्फबाट सदनमा जवाफ दिएका हुन्।

जफत गरिएका विद्यार्थीको मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश
एसइईको परीक्षा हलभित्र भेटिएका मोबाइल नष्ट नगर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ । सर्वोच्चको एकल इजलासले यस रिटमाथि लिखित जवाफसमेत माग गरेको छ । 

अधिवक्ता अनिलकुमार साहसमेतले मंगलबार दायर गरेको रिटमाथि बुधबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासबाट यस्तो आदेश भएको हो । सुविधा र सन्तुलनका हिसाबले थप मोबाइल नष्ट गर्ने कार्य नगर्न र १५ दिनभित्र लिखि जवाफ पेस गर्न उक्त इजलासले आदेश गरेको हो । 

फ्लाई दुबईले २३ सेप्टेम्बरदेखि पोखरामा उडान भर्ने 
संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो २३ सेप्टेम्बरदेखि दैनिक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । कम्पनीले सुरुमा एक महिना पोखरामा उडान भर्ने भएको हो ।

उडान सुरु गर्नका लागि फ्लाई दुबईका जोखिम व्यवस्थापन हेर्ने उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको एक टोली एक साताअघि पोखरा आएको थियो । पोखरा आएको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षणसँगै विमानस्थलका अधिकारीहरू र विमानस्थलको प्राविधिक पक्षसँगै उडान सञ्चालन लागि छलफल गरेको थियो।

प्रधानमन्त्रीले ठुलो ऐतिहासिक भुल गरेँ भन्ने स्वीकार गरे संसद् चल्छ: एमाले
एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्री बालेन्द्र शाहले रोस्ट्रममा उभिएर आफ्नो गल्ती स्वीकार गरे संसद् सहज रूपमा अघि बढ्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले भने, ‘यो रोस्ट्रममा आएर मैले जे बोलेँ त्यो इतिहासको तथ्यसँग मेल खाँदैन, यो मेरो ठुलो ऐतिहासिक भुल थियो भनेर स्वीकार गर्ने हो भने यो संकट हल हुन्छ।’

दीपेन्द्र टी–२० आई अलराउन्ड वरीयताको चौथो नम्बरमा
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ टी–२० आई अलराउन्ड वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी रेटिङमा ऐतिहासिक सुधार गर्दै पुनः चौथो नम्बरमा उक्लिएका छन्।

ऐरी २५६ रेटिङसहित चौथो नम्बरमा रहन सफल भएका हुन्। टी–२० आईमा हालसम्म दुई हजार २२० रन जोडेका ऐरीले पाँच मेडनसहित ६२ विकेट लिएका छन्। उनले फिल्डिङमा ४३ क्याच र २६ रनआउट गरेका छन्।

दल त्यागेपछि आठजना एमाले जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एमालेबाट ०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित आठजना जनप्रतिनिधिले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको सूचना प्रकाशित गरेको छ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२९१० तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम एमाले केन्द्रीय सचिवालयको निर्णयको प्रतिलिपिसहित प्राप्त जानकारीका आधारमा मिति ०८३ जेठ २६ गते उक्त निर्णय गरेको जनाएको छ।

झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा दाङका वडाध्यक्षसहित चारजना पक्राउ
झुटा विवरण पेस गरी नेपाली नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका– ४ का वडाध्यक्षसहित चारजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका– ४ का वडाध्यक्ष रामेश्वर यादव ९रामेश्वर अहिर०, सोही वडाका वडासचिव राजेशकुमार कहार, तत्कालीन कार्यालय सहायक मीना चौधरी तथा राजपुर गाउँपालिका– ४ निवासी आलम जोल्हा रहेका छन्।

नगरपालिकाकै गाडी चोरी, एक अभियुक्त पक्राउ
ललितपुरको गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत मानबहादुर खड्का चढ्ने सरकारी गाडी चोरीमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्ने ललितपुर गोदावरी– १४, ठैबका ३३ वर्षीय श्यामभाइ परियार रहेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रधानमन्त्रीको सट्टा अरूले जवाफ दिने कुरा स्वीकार्य छैन: हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ९हर्कराज राई०ले प्रधानमन्त्रीको सट्टा अरूले जवाफ दिने कुरा आफ्नो पार्टीले नस्विकार्ने बताएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०को सट्टा परराष्ट्रमन्त्री शिशिर खनालले सदनमा जवाफ दिने तयारी भएकोमा आपत्ति जनाउँदै साम्पाङले यस्तो बताएका हुन्।

सुझावित समाचार