एक महिनामा १,३१३ बचतकर्ताको रकम फिर्ता

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण
  • समस्याग्रस्त २२ सहकारीका १३ हजार ७५ ऋणीबाट २३ अर्ब ६२ करोड ९६ लाख रुपैयाँ उठाउन बाँकी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक हजार ३१३ साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । समितिले एक महिनादेखि साना बचतकर्ताको रकम फिर्ता कार्यलाई तीव्रता दिएको छ । समितिले मंगलबार मात्रै समस्याग्रस्त घोषणा भएको शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताको रकम फिर्ता गरेको छ । ऋण असुलीपछि जम्मा भएको रकम बचतकर्तालाई फिर्ता गरिएको समितिले जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्यांकअनुसार संघअन्तर्गत मुलुकभर २३ सहकारी समस्याग्रस्त घोषणा भएका छन् । त्यसमा आइडल यमुना हाम्रो बहुउद्देश्यीयबाहेक २२ सहकारीमा ५८ हजार २८८ बचतकर्ता पीडित छन् । उनीहरूको ३५ अर्ब ४५ करोड ३१ लाख ६० हजार ९०६ रुपैयाँ फिर्ता गर्न बाँकी छ । 

बचतकर्ताको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने निर्णय गरेको सरकारले सञ्चालनका लागि चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ समेत जारी गरिसकेको छ । सोही कार्यविधिअनुसार बचतकर्ताको रकम फिर्ता गर्ने तयारी छ । कोषमा सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँ निकासा गरेको छ । तर, त्यो रकम अझै पनि समितिको खातामा भने आइसकेको छैन । समितिले कोषमा जम्मा भएको सोही रकमबाट बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्नेछ । बाँकी ऋणीबाट ऋण असुल्दै दिने जनाएको छ ।

बचतकर्ताको रकम फिर्तासँगै समितिले ऋण उठाउने कार्य{ पनि थालेको छ । तथ्यांकअनुसार समस्याग्रस्त २२ सहकारीका १३ हजार ७५ ऋणीबाट २३ अर्ब ६२ करोड ९६ लाख ५८ हजार ७९४ ऋण उठाउन बाँकी छ । ऋण भुक्तानीका लागि समितिले मंगलबार नै सूचना निकालेको छ । ऋण भुक्तानी नगर्ने ऋणीको धारा, बिजुली, सिफारिसजस्ता सार्वजनिक सेवा बन्द गर्ने भनिएको छ ।

त्यसबाहेक उनीहरूको नाम कालोसूचीमा चढाई सार्वजनिक गरिनेछ । सम्पत्ति लिलाम हुनेछ र कैद एवं जरिवानासमेत तोकिनेछ । यसरी असुल गरिएको ऋण कोषमा दाखिला गरिनेछ । त्यसबाहेक ठगीमा संलग्न सहकारीका सञ्चालक, कर्मचारी, बोर्ड सदस्यबाट रकम असुल गरिनेछ । त्यसमध्ये केही रकम सरकारलाई शोधभर्ना गरिनेछ भने बाँकी रकम बचतकर्तालाई फिर्ता गरिनेछ । समितिका अनुसार सम्बन्धित सहकारीबाट उठेको रकम सोही सहकारीको बचतकर्तालाई फिर्ता गरिनेछ ।

सुझावित समाचार