बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी)ले ५० किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ । कम्पनीले प्युठानको दरिमचौरस्थित आफ्नो १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् आयोजनाको परिसरमा उक्त परियोजनाको उद्घाटन गरेको हो ।
परियोजना विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकारअन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसिडिओ)को आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको हो ।
परियोजनाले जलविद्युत्बाट उत्पादित नवीकरणीय जलविद्युत् ऊर्जा प्रयोग गरी इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गर्नेछ । परियोजनामा जडान गरिएको ५० किलोवाट क्षमताको अल्कलाइन इलेक्ट्रोलाइजर प्रणालीले ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्ने कम्पनीले जनाएको छ । उत्पादित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणसहित कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्याउने बताइएको छ ।