इरानी समर्थकले रंगशालामा झन्डा लैजान नपाउने

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण
  • विश्वकपमा सहभागी इरानले भिसा पाए पनि अमेरिकामा खेल सकिएको दिनै मेक्सिको फर्कनुपर्ने बाध्यता छ । अमेरिकी प्रशासनले इरानी समर्थकहरूलाई रंगशालाभित्र झन्डा बोक्न वा लैजान नपाउने निर्देशन दियो ।

इरानले विश्वकपमा सहभागी हुन ठुलो संघर्ष गरी अमेरिकाको भिसा प्राप्त गर्यो । अमेरिकाले इरानलाई विभिन्न प्रोटोकल पालना गर्नुपर्ने जनाउँदै भिसा दिएको हो । अमेरिकामा खेल सकिएको दिनै इरानी टोली मेक्सिकोमै फर्कनुपर्ने नियम छ । यो नियम पालना शतप्रतिशत गर्ने प्रतिबद्धता जनाउँदा इरानले अमेरिकी प्रवेशको भिसा पाएको थियो । इरानले भिसा पाउँदा सबैभन्दा धेरै खुसी हुनेमा उसका समर्थकहरू थिए । 

समर्थकहरूले अनलाइनको माध्यमबाट आफ्नो राष्ट्रले समूह चरणमा खेल्ने सबै टिकट किनिसकेका थिए । यसैको माध्यमबाट उनीहरू अमेरिका पुगेका छन् । तर, रंगशालामा इरानले विपक्षीसँग प्रतिस्पर्धा गरिरहँदा इरानी समर्थकले आफ्नो राष्ट्रको झन्डा प्रस्तुत गर्न पाउनेछैनन् । अमेरिकामा रहँदा समर्थकहरूले झन्डा कहीँ पनि प्रदर्शन गर्न नमिल्ने अमेरिकी प्रशासनले मंगलबार नोटिस नै जारी गरेको छ । 

‘विश्वकपमा इरानको समर्थक गर्न आउने दर्शकहरूले रंगशालाभित्र वा बाहिर झन्डा देखाउन प्रतिबन्ध लगाइएको छ,’ प्रशासनले भनेको छ, ‘यो निर्देशनविरुद्ध जाँदा तत्काल कारबाहीमा पर्न सक्छ ।’ अमेरिकाको यो निर्णयसँगै समर्थकहरू एक किसिमले दुःखी भएका छन् । इरानी टोलीलाई हौसला प्रदान गर्न रंगशालामा झन्डा देखाउने मोहमद मोसिन खानको सपना तुहिएको छ । खानले आफूसाथ इरानको झन्डा बोकेर अमेरिका पुगेका थिए । अब उनको झन्डा लगेज भित्र रहने भएको छ । 

‘दुई राष्ट्रबिचको राजनीति एकतिर र फुटबल अर्कोतिर छ,’ उनले भने, ‘फुटबलमा राजनीति मिसाउन मिल्दैन । यसलाई फोहरी खेल र प्रतिशोधको भावना लिएको भन्नुपर्छ ।’ खान मात्र नभएर अन्य सयौँ संख्याका इरानी समर्थक निराश छन् । उनीहरूले सामूहिक रूपमा अमेरिकाले आफूहरूमाथि अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । रंगशालाभित्र ४८ मध्ये ४७ राष्ट्रको झन्डा फरफहराउँदा इरानको मात्र झन्डा प्रदर्शन नहुने खानको दुःखेसो छ । ‘हामीहरूको मात्र झन्डा रंगशालामा हुनेछैनन् । 

यसबाहेक अरू सबैका हुनेछन्,’ उनले भने, ‘सबै सहभागी राष्ट्रका खेलाडीदेखि समर्थकहरू आ–आफ्ना राष्ट्रिय झन्डाका साथ उपस्थित हुँदा गौरव महसुस गर्छन् । अमेरिकाले हामीलाई यो अवसरबाट वञ्चित गरेको छ ।’ यसअघि अमेरिकाले विभिन्न राष्ट्रहरूलाई भिसा उपलब्ध गराउने सूचना जारी गरेको थियो । यसमा इरान पनि पर्छ । अमेरिकाले पछिल्लो समयमा इरानसँगको युद्धले विश्वकपमा असर नगर्ने भनेको थियो । तर, अहिले युद्धको असर परेको देखिन्छ । युद्धकै कारण इरान विश्वकपमा सहभागी हुने वा नहुने शंका थियो । 

राजनीतिक ब्यानर प्रदर्शन गर्न रोक 
इरानी समर्थकहरूले आफ्नो साथ अमेरिकामा लगेको झन्डा सन् १९७९ मा इस्लामिक आन्दोलनको झल्को दिने किसिमको छ । यसमा इस्लामिक क्रान्तिको प्रतीकका रूपमा सिंह र सूर्य चित्रित छ । जसमा विश्वकपमा रंगशालाभित्र प्रतिबन्ध लगाइएको छ । विश्वकप सुरु हुनुअघि उत्तरी अमेरिकामा इरानी समर्थकहरू विभिन्न सहरमा झन्डाका साथ घुमफिर गरिरहेका छन् । फिफाले पनि विश्वकपमा कुनै पनि अप्रिय घटना हुन नदिन त्यस्ता गतिविधि रोक्नेमा अमेरिकालाई सहयोग गर्ने जनाएको छ । फिफाले समर्थकहरूलाई धेरै राजनीतिक ठानेको ब्यानर फहराउन निषेध गरेका छ । 

अहिले रंगशालाभित्र झन्डा राख्ने मुद्दा पनि तीव्र बहसको विषय बनेको बिबिसीले जनाएको छ । रमाइलो पक्ष के छ भने इरानबाट भागेर अमेरिका पुगेका धेरैजसो इरानीहरू अमेरिकाको पश्चिम लस एन्जलसमा बाक्लो उपस्थित रहेको छ । अमेरिकीहरूले वेस्टवुडको छिमेकलाई लामो समयदेखि ‘तेहरान्जेल’ भन्ने गर्छन् । यस सहरमा २६ वर्षदेखि इरानीहरू बस्दै आइरहेका छन् । इरानपछि ठूलो संख्यामा इरानी समुदाय रहेको स्थान नै लस एन्जलस हो । २३औँ संस्करणको विश्वकपमा यसै लस एन्जलसमा इरानले दुई खेल खेल्नेछ । समूह चरणका दुई खेल यहाँ इरानको हुँदा अमेरिकाले सुरक्षा व्यवस्थामा कडा बनाइएको छ । लस एन्जलस पुगेका एक समर्थकले पछिल्लो युद्धका कारण आफूले परिवार गुमाएको बताएका छन् । ‘गत फेब्रुअरीमा अमेरिकाले इरानमाथि आक्रामण गर्दा मैले आमा र आफन्तहरू गुमाएको थिएँ,’ उनले भने, ‘अहिले अमेरिकामा इरानलाई जित दिलाउन आएको हुँ । हामी खेलको माध्यमबाट इरानलाई चिनाउन चाहन्छौँ ।’ लस एन्जलसपछि इरानको खेल स्याटलमा छ । 

फुटबलमा छिर्यो देशको राजनीति
इरानी फुटबल संघ मैदानभित्र र बाहिर राजनीति प्रवेश गरेको दाबी गरेका छन् । उनीहरूले खेल मैदानभित्र फोहोरी राजनीति हुनु नहुने जनाएका छन् । सोफी रंगशाला सोमबार बाहिर धेरै समर्थकहरूले इरानको प्रशिक्षण हेर्न वञ्चित भएका छन् । खेलाडीहरूको प्रशिक्षणसमेत समर्थकहरूले हेर्न नपाउँदा इरानी टोलीले आपत्ति जनाएको छ । ‘यहाँ हामीले सोचेजस्तो पाएका छैनौँ,’ तान्जिज पार्सीले भनिन्, ‘उल्टै हामीविरुद्ध नै आन्दोलन भइरहेको छ ।’ उनले खेलाडीहरू स्वतन्त्र भएको र उनीहरूलाई त्यहीअनुसारको सुविधा प्रदान गर्नुपर्ने बताइन् ।

‘अहिले अमेरिकामा आएका इरान खेलाडी विशुद्ध इरानी हुन् । उनीहरू कुनै पनि धर्मसँग सम्बन्धित छैनन् । खेलाडीहरूको एउटै उद्देश्य मैदानमा आफ्नो राष्ट्रलाई जित दिलाउनु हो । हामी सवैले इरानी खेलाडी सम्मान गर्नुपर्छ ।’ अमेरिकामा लामो समयदेखि बसोवास गर्दै आएका फराहानीले इरानले विश्वकपमा राम्रो गर्ने बताए । ‘सबैतिरबाट इरानलाई दुःख दिने उद्देश्यको योजना भइरहेको छ । तर मलाई विश्वास छ इरानले विश्वकपमा आफ्नो शक्ति प्रदर्शन गर्नेछ,’ उनले भने, ‘इरानी खेलाडीहरू दबावबिच प्रतिस्पर्धा गर्नेछन् ।’

उनले मैदानमा खेलाडीहरूको जोश बढाउन इरानको झन्डा लैजानुपर्ने माग राखेका छन् । ‘झन्डाप्रति कसैको आपत्ति हुनुहुँदैन । यसले राष्ट्रको प्रतिनिधित्व गरेको हुन्छ,’ उनले भने, ‘हामी पनि झन्डाका साथ इरानलाई समर्थन गर्न यहाँ आएका छौँ ।’ 

See More On

सुझावित समाचार