रास्वपा बागमतीको नयाँ नेतृत्वका लागि पाँच आकांक्षी चुनावी मैदानमा

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती प्रदेशबाट आफ्नो पार्टीको प्रदेशस्तरीय अधिवेशन सुरु गरेको छ । मंगलबार प्रदेशको राजधानी हेटौँडाबाट सुरु गरेको प्रदेश अधिवेशनमा बागमती प्रदेशको नेतृत्वका लागि पाँचजना आकांक्षी चुनावी मैदानमा छन् ।

अधिवेशनमा वर्तमान प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछाने, प्रदेशका निवर्तमान प्रवक्ता उत्सव अर्याल, प्रतिनिधिसभा सदस्य बदन भण्डारी, केन्द्रीय प्रशिक्षण विभाग सदस्य कृष्णमान शाक्य र रामेछापका नेता हरिबहादुर (एचबी) खत्रीको उम्मेदवारी परेको छ ।

अधिवेशनले ६५ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछ । विधानअनुसार कार्यसमितिमा एक सभापति, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता तथा सदस्यहरू रहने व्यवस्था छ । सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ ।  निर्वाचन समितिका सदस्य हेमराज पोखरेलले भने सम्पूर्ण प्रक्रिया टुंग्याएर मंगलबार राति नै निर्वाचन गर्ने बताए । 

पार्टीभित्र अन्तिम समयसम्म सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भए पनि आकांक्षीहरू पछि नहटेपछि निर्वाचनतर्फ जाने वातावरण बनेको हो । रास्वपाको प्रदेश नेतृत्वमा स्थापनाकालदेखि रहेका डा. अच्युतम लामिछाने पुनः सभापतिमा दोहोरिने तयारीमा छन् । नुवाकोट २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेले प्रदेश संगठन निर्माण, विस्तार र संरचना विकासमा आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै निरन्तरताको पक्षमा मत मागिरहेका छन् ।
यता मकवानपुरका उत्सव अर्यालले पनि सभापतिमा दाबी गरेका छन् । प्रदेश समितिको प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका अर्याल संगठन विस्तार र जनसम्पर्क अभियानमा सक्रिय नेताका रूपमा परिचित छन् । उनी प्रदेश नेतृत्वमा पुस्तान्तरण र नयाँ कार्यशैली आवश्यक रहेको तर्क गर्दै प्रतिस्पर्धामा उत्रिएका हुन् ।

त्यस्तै काभ्रेपलाञ्चोक २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बदन भण्डारीले पनि प्रदेश नेतृत्वको दाबी प्रस्तुत गरेका छन् । पार्टीको सार्वजनिक मामिला विभागका सचिवसमेत रहेका भण्डारीले संसदीय अनुभव र संगठनात्मक क्षमताका आधारमा आफू प्रदेश नेतृत्वका लागि उपयुक्त उम्मेदवार भएको बताउँदै आएका छन् । धादिङका कृष्णमान शाक्य र रामेछापका एचबी खत्रीले पनि सभापति पदमा उम्मेदवारी दिएका छन् । धादिङका शाक्य पार्टीको केन्द्रीय प्रशिक्षण विभागका सदस्य हुन् भने खत्री रामेछापमा पार्टीका क्रियाशील सदस्य हुन् ।

रास्वपाले यसअघि बागमती प्रदेश अधिवेशनमार्फत सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गर्ने जनाएको थियो । तर, बहुआकांक्षी देखिएपछि लोकतान्त्रिक प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको नेताहरूको भनाइ छ ।
पार्टीको विधानअनुसार निर्वाचन प्रक्रिया दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा सभापति र प्रदेश सदस्य पदका लागि मतदान हुनेछ । त्यसपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताको चयन गरिनेछ । 

रास्वपाले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमतीबाट गरेको हो । अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले गरेका थिए । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट छनोट भएका करिब एक हजार दुई सय प्रतिनिधिले मतदान गर्ने पार्टीले जनाएको छ ।

रास्वपा बागमती प्रदेश सभापति डा. अच्युतम लामिछानेका अनुसार प्रदेशका एक हजार १२१ वडामध्ये करिब नाै सय वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै स्थानीय तहमा पार्टीको संगठन विस्तार भइसकेको छ । बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ भने सिन्धुपाल्चोकको अधिवेशन भने स्थगित भएको छ ।
 

सुझावित समाचार