बागमती कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ। मंगलबार हेटौँडा–६ स्थित गौरीटार रंगशालाको क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा चितवनले सुपरओभरमा काठमाडौंलाई पराजित गर्दै उपाधि जितेको हो। चितवन समूह विजेता र काठमाडौं उपविजेता बन्दै फाइनलमा पुगेका थिए।
सुपरओभरमा ११ रनको लक्ष्य पाएको चितवनले ४ बलमै जित निकाल्यो। सुपर ओभरमा पहिले व्याटिङ गरेको काठमाडौंले १० रन मात्रै जोड्न सक्यो। काठमाडौंका कप्तान रित गौतम शून्यमा आउट हुँदा सोनु देवकोटाले ९ र रनवीर यादवले १ रन जोडे। चितवनका दीपेश श्रेष्ठले बलिङ गरेका थिए।
चितवनका रोशन झाले दयानन्द मण्डलको ४ बलमा एक छक्काको मद्दतले ११ रन जोड्दै टिमलाई जित दिलाए।
यसअघि चितवनले दिएको ९० रनको लक्ष्य पछ्याएको काठमाडौंले ८९ रन मात्रै बनाउन सकेपछि खेलमा बराबरी भएको हो। टस जितेर पहिले व्याटिङ गरेको चितवनले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ८९ रन बनाएको थियो। चितवनका सूर्यान्सु कोइरालाले ३३ र पवनबहादुर थापाले २५ रन बनाएका थिए। काठमाडौंका सन्दीप पराजुलीले २ विकेट लिँदा नितेश कुमार, मनसुन सिंह र सोनु देवकोटाले एक–एक विकेट हात पारे।
जवाफी व्याटिङमा उत्रिएको चितवनले पनि निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ८९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो। काठमाडौंका कप्तान रित गौतमले सर्वाधिक ४४ रन र नितेश कुमारले १६ रन बनाए। काठमाडौंका अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन्। चितवनका दीपेश श्रेष्ठले २ विकेट निकाल्दा क्रिजन गुरुङ, प्रतीक श्रेष्ठ र मनीष पुनले समान एक विकेट लिए।
फाइनल खेलमा चितवनका सूर्यान्सु कोइराला प्लेयर अफ द म्याच भए।
प्रतियोगिताको विजेता र उपविजेताले ट्रफी र मेडल प्राप्त गरेका छन्। व्यक्तिगत विधातर्फ काठमाडौंका रित गौतम उत्कृष्ट ब्याटर र सन्दीप पराजुली उत्कृष्ट बलर तथा चितवनका सन्देश सुवेदी उदीयमान खेलाडी घोषित भए। प्रतियोगिताका उत्कृष्ट बलर, ब्याटर र उदयमान खेलाडीले जनही १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भक्तपुरका क्रिश कार्कीले १५ हजार रुपैयाँ पुरस्कार पाए।
गौरीटार क्रिकेट मैदान उद्घाटनको अवसरमा बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर क्रिकेट संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो। प्रतियोगितामा मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर र नुवाकोट गरी बागमती प्रदेशका ६ जिल्लाको सहभागिता थियो।