राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले आगामी निर्वाचनमा जनताले परिवर्तनको पक्षमा ऐतिहासिक निर्णय गर्ने दाबी गरेका छन् । उनले रास्वपाप्रति आमनागरिकको अपेक्षा अत्यन्त उच्च रहेको उल्लेख गर्दै स्थानीय तहदेखि संघीय तहसम्मको निर्वाचनमा पार्टीले चामत्कारिक नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।
रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले खेती–किसानी गर्ने किसानदेखि ज्याला–मजदुरी गरेर जीवन निर्वाह गर्ने श्रमिकसम्मले रास्वपालाई आशा र भरोसाको केन्द्रका रूपमा हेरेको बताए । जनताले परम्परागत राजनीतिक दलबाट अपेक्षित परिवर्तन नपाएपछि नयाँ विकल्पका रूपमा रास्वपालाई विश्वास गरेको उनको भनाइ थियो ।
‘आमनागरिकको यो विशाल अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छौँ । स्थानीय तहबाटै परिवर्तन सम्भव छ र आगामी निर्वाचनमा लोभ–पापभन्दा माथि उठेर योग्य उम्मेदवार अघि सारेमा जनताले आश्चर्यजनक परिणाम दिनेछन्,’ उनले भने, ‘हामी व्यक्तिगत स्वार्थका लागि होइन, देशको भविष्य निर्माणका लागि राजनीतिमा आएका हौँ ।’
महामन्त्री बुर्लाकोटीले पार्टीभित्र जिम्मेवारी वितरणको मुख्य आधार योग्यता, क्षमता, इमानदारिता र योगदान हुने स्पष्ट पारे। रास्वपाले छोटो समयमै उल्लेखनीय राजनीतिक उपलब्धि हासिल गरेपछि पद, अवसर र चुनावी टिकटको आशामा धेरै व्यक्ति पार्टीमा जोडिएको स्वीकार गर्दै उनले योग्य र सक्षम व्यक्तिलाई मात्रै नेतृत्वको अवसर दिइने बताए ।
‘स्वार्थ राखेर आउनेहरूलाई म पूर्ण रूपमा गलत भन्दिनँ,’ उनले भने, ‘तर, सक्षम, इमानदार र काम गर्न सक्ने व्यक्ति होइन भने पार्टीले बिस्तारै पाखा लगाउँदै जान्छ। अब जिम्मेवारी बाँडफाँटको आधार योग्यता र कार्यक्षमता नै हुनेछ ।’
उनले पार्टी स्थापनाकालदेखि योगदान गरेका र पार्टीको विचार तथा अभियानलाई निरन्तर समर्थन गर्ने कार्यकर्तालाई विशेष प्राथमिकता दिइने पनि बताए । ‘भर्खरै जोडिएको व्यक्ति पनि योग्य छ भने अवसर पाउँछ। तर सुरुदेखि पार्टीको विचार बोकेर संघर्ष गर्ने साथीहरूको योगदानलाई पनि पार्टीले उच्च मूल्यांकन गर्छ,’ उनले भने ।
महामन्त्री बुर्लाकोटीका अनुसार हाल रास्वपामा पाँच लाखभन्दा बढी सदस्य आबद्ध भइसकेका छन् । देशका विभिन्न क्षेत्र, पेसा र समुदायका नागरिकहरू पार्टीमा जोडिने क्रम बढिरहेको उनले बताए । एकै दिन हजारौँ व्यक्तिले सदस्यता लिएको उदाहरण प्रस्तुत गर्दै उनले रास्वपाप्रतिको जनविश्वास निरन्तर बढिरहेको दाबी गरे ।
‘किसान, मजदुर, व्यवसायी, कर्मचारी, विद्यार्थी सबै वर्गका नागरिकले परिवर्तनको आशा राखेर रास्वपामा जोडिनुभएको छ,’ उनले भने, ‘यो केवल पार्टी विस्तार होइन, देशमा नयाँ राजनीतिक संस्कृतिको खोजी हो ।’ उनले रास्वपा नेपालको राजनीतिलाई नयाँ दिशा दिने उद्देश्यका साथ अघि बढिरहेको दाबी गरे। अन्य राजनीतिक दलका नेताहरूले समेत रास्वपाबाट परिवर्तन सम्भव रहेको स्वीकार गर्न थालेको उल्लेख गर्दै उनले राजनीतिक प्रणालीलाई जनउत्तरदायी बनाउन पार्टी प्रतिबद्ध रहेको बताए ।
अधिवेशनको महत्त्वबारे चर्चा गर्दै महामन्त्री बुर्लाकोटीले प्रदेश नेतृत्व चयन मात्रै यसको उद्देश्य नभएको बताए । उनले अधिवेशनले कार्यकर्ताको राजनीतिक चेतना, संगठनात्मक क्षमता र नेतृत्व विकासमा समेत योगदान पुर्याउने धारणा राखे।
‘हामी डिजिटल माध्यमबाट पनि नेतृत्व चयन गर्न सक्थ्यौँ,’ उनले भने, ‘तर, कार्यकर्ताहरू प्रत्यक्ष भेटिने, विचार आदान–प्रदान हुने र संगठनलाई तलसम्म सशक्त बनाउने अवसरका रूपमा अधिवेशनलाई लिएका छौँ ।’ आगामी स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै पार्टीले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’जस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले भविष्यका नेतृत्व तयार पार्ने काम सुरु भइसकेको बताए ।