रास्वपाकाे बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा हुने संकेत

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गर्दै छ।आजदेखि हेटौँडामा बागमती प्रदेशको पहिलो अधिवेशन गर्दै प्रदेशस्तरीय अधिवेशनको सुरुवात गरेको हो ।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले प्रदेश संगठनको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा संगठनात्मक मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ। हेटौँडा– १ स्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्घाटन पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले गर्ने भएका छन् । 

यसअघि सभापति रवि लामिछानेले अधिवेशनको उद्घाटन गर्ने भनिएको थियो। लामिछाने नआउने भएपछि महामन्त्री बुर्लाकोटीले अधिवेशन उद्घाटन गर्ने भएका हुन्।अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट छनोट भएका करिब एक हजार पाँच सय  प्रतिनिधिको सहभागिता रहने रास्वपाले जनाएको छ ।

रास्वपा बागमती प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनका अनुसार प्रदेशका एक हजार १२१ वडामध्ये करिब नाै सय वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै स्थानीय तहमा पार्टीको संगठन विस्तार भइसकेको छ ।

‘प्रदेश राजधानी हेटौँडामा पहिलो प्रदेश अधिवेशन आयोजना गर्न पाउनु हाम्रा लागि महत्त्वपूर्ण अवसर हो,’ उनले भने, ‘अधिवेशनले संगठनलाई थप मजबुत बनाउने र आगामी महाधिवेशनका लागि स्पष्ट दिशा तय गर्नेछ ।’

नेतृत्व चयनमा चुनावी प्रतिस्पर्धाको संकेत
अधिवेशनको मुख्य आकर्षण नयाँ प्रदेश नेतृत्व चयन हुनेछ। नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास भए पनि सभापति पदसहित विभिन्न पदमा आकांक्षी देखिएकाले निर्वाचन हुने सम्भावना बलियो बनेको छ। हालका प्रदेश सभापति अच्युतम लामिछाने पुनः सोही पदमा दोहोरिने तयारीमा छन्। उनले प्रदेश नेतृत्वमै निरन्तरता दिने इच्छा व्यक्त गरेका छन्।

‘अहिले मेरो प्राथमिकता प्रदेश संगठनलाई अझ सुदृढ बनाउनु हो। केन्द्रीय समितिमा जाने सोच तत्कालका लागि छैन,’ उनले भने, ‘प्रदेश सभापतिमा मेरो दाबी छ।’ सभापति पदका अर्का दाबेदार हालका प्रदेश प्रवक्ता उत्सव अर्याल छन् भने धादिङका कृष्णमान श्रेष्ठको पनि सभापतिमा दाबी रहेको बुझिएको छ ।

सभापतिका आकांक्षाी अर्यालले सभापतिमा आफ्नो दाबेदारी रहेको बताए । उनले वर्तमान सभापति अच्युतम लामिछाने  संसदीय जिम्मेवारीमा रहेकाले आफूले प्रदेश सभापतिमा दाबी गरेको स्पष्ट पारे ।

‘वर्तमान सभापति संसदीय जिम्मेवारीमा पनि हुनुहुन्छ। प्रदेशमा पार्टीको संगठन थप मजबुत र सुदृढ बनाउन मेरो सभापतिमा दाबी हो,’ उनले भने। पार्टीभित्र दुवै पक्षले आफ्ना–आफ्ना समूह बनाएर निर्वाचनमा जाने तयारी गरिरहेको स्रोतको दाबी छ । उपसभापति पदमा स्वास्थ्य क्षेत्रसँग आबद्ध डा. रमेश ढकाल र मेनुका ठकुरी आकांक्षी देखिएका छन्। यस्तै वर्तमान महामन्त्री सुरेन्द्र भट्ट पुनः सोही पदमा दोहोरिने तयारीमा छन् ।

६५ सदस्यीय प्रदेश समिति चयन हुने
रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ। समितिमा एक–एकजना सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुईजना सहमहामन्त्री रहनेछन्।सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ।

त्यसैगरी कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ। विधानअनुसार निर्वाचन भएमा दुई चरणमा मतदान हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरूमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ ।

जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशन
रास्वपाले बागमती प्रदेशका १३ मध्ये १२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। सिन्धुपाल्चोक जिल्ला अधिवेशन भने स्थगित भएको छ। जिल्ला अधिवेशनबाट छनोट भएका प्रतिनिधिहरूले प्रदेश नेतृत्व चयनमा मतदान गर्नेछन्।

रास्वपा मकवानपुरका जिल्ला सभापति सञ्जीव पाठकका अनुसार अधिवेशनमा पार्टीका केन्द्रीय पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताको व्यापक सहभागिता रहनेछ। उनका अनुसार अधिवेशनमा संगठन विस्तार, सुशासन, भ्रष्टाचार नियन्त्रण, जनसरोकारका मुद्दा तथा आगामी राजनीतिक रणनीतिबारे समेत विस्तृत छलफल हुनेछ।
रास्वपाले आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ।

सुझावित समाचार