प्रतिनिधि विवादका कारण निर्वाचन प्रक्रिया नै रद्द भएपछि पुनः मतदानमार्फत सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनले अन्ततः नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनबाट चित्रकुमार कार्की जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतदानको अन्तिम परिणामअनुसार कार्कीले ११३ मत प्राप्त गर्दै सभापति पदमा विजयी हासिल गरेका हुन्।
निर्वाचन समितिका संयाेजक नारायण घिमिरेका अनुसार निकटतम प्रतिस्पर्धी जनक बस्नेतले ८१ मत प्राप्त गरे । कार्कीसँगै उनको प्यानलले अधिकांश प्रमुख पदमा जितेकाे छ ।
उपसभापति पदमा किरण राउत १०१ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कृष्णकुमारी घिमिरे श्रेष्ठले ८५ मत प्राप्त गरिन् । सचिवमा सूर्यबहादुर लामा ९६ मतसहित निर्वाचित हुँदा भुवन खतिवडाले ७५ र जनार्दन कार्कीले २० मत प्राप्त पाए । सहसचिवमा सूर्यकुमार राई १११ मतसहित विजयी भए भने हुकुममणि पाण्डेले ८२ मत प्राप्त गरे ।
जिल्ला सदस्यतर्फ अम्बरबहादुर तामाङ, कौशिला कार्की, गुरुदेव कार्की र हेमकुमारी चौधरी निर्वाचित छन् । क्षेत्रीय नेतृत्वतर्फ क्षेत्र नम्बर १ को सभापतिमा उद्धव अधिकारी ५९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी श्यामकुमार कार्कीले ५५ मत प्राप्त गरे । यसैगरी क्षेत्र नं. १ (क) काे सभापतिमा पवन कार्की र क्षेत्र नं. १ (ख) काे उपसभापतिमा वासु थापा निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी, क्षेत्र नं. २ को सभापतिमा सामर्थ थापा ५५ मतसहित विजयी भए भने मीनबहादुर खड्काले १७ मत प्राप्त गरे ।उपसभापतिमा दिनेश कार्की ५० मतसहित निर्वाचित हुँदा पूर्णकुमारी राउतले २३ मत प्राप्त गरिन् ।
रास्वपा उदयपुरको अधिवेशन सुरुमा सहज देखिए पनि प्रतिनिधि छनोटसम्बन्धी विवादले निर्वाचन प्रक्रिया प्रभावित बनेको थियो। शनिबार उम्मेदवारी दर्ता सम्पन्न भए पनि आइतबार बन्दसत्रका क्रममा विवाद चर्किएपछि निर्वाचन समितिले सम्पूर्ण कार्यतालिका रद्द गरेको थियो। त्यसपछि पुनः उम्मेदवारी दर्ता गराई सोमबार मतदान सम्पन्न गरिएको हो।
विवाद र ध्रुवीकरणको अवस्थाबिच सम्पन्न अधिवेशनले रास्वपा उदयपुरलाई नयाँ नेतृत्व दिएको छ। अब नवनिर्वाचित नेतृत्वसामु संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन, आन्तरिक एकता कायम गर्ने तथा आगामी स्थानीय तहकाे निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने चुनौती रहेको छ।