पुलिस स्कुल र डिएभी उपाधिका लागि खेल्ने

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

तेस्रो संस्करणको एसियन इ–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल (डिएभी) खेल्ने भएका छन्।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा डिएभी स्कुलले जेम्स स्कुललाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो। डिएभीका लागि प्रसिद्ध जैशीले २८ बलमा ९ चौकासहित ४९ रनको उत्कृष्ट इनिङ्स खेले। विराज जैसवालले ३७, सत्याम बस्नेतले १६ तथा मयंक शाहले १० रन जोडे।

जेम्सका स्वराज चौलागाईंले ३ विकेट लिए भने प्रगव पाण्डे, प्रचेत लखोटिया र अन्जन झाले समान १–१ विकेट लिए।

१३१ रनको लक्ष्य पछ्याएको जेम्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो। स्वराज चौलागाईंले २७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। सुदीश पौडेलले १६ तथा प्रचेत लखोटियाले १५ रनको योगदान दिए।

डिएभीका लागि कुञ्जन आचार्यले २ विकेट लिए भने प्रसिद्ध जैशी, कमल शाही र केशव अग्रवालले समान १–१ विकेट लिए। डिएभीका प्रसिद्ध जैशी ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो सेमिफाइनलमा पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयलाई ८ रनले पराजित गर्दै डिएभीसँगको भेट पक्का गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिस स्कुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो। पुलिसका लागि प्रियंशुकिशोर राउतले ३६ रनको योगदान दिए। यस्तै, मोहम्मदअब्बास साफीले ३२, राकेशकुमार साहले अविजित २१ तथा सुनील ठाकुरले २० रन बनाए।

सैनिकका सफल पौडेलले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। आभाष केसी र रोशन तिवारीले समान २–२ विकेट हात पारे।

१४७ रनको लक्ष्य पछ्याएको सैनिकले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो। उसका लागि राजदीप आचार्यले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ऋषव साहले १९ तथा रोशन तिवारीले ११ रन जोडे।

पुलिसका प्रियंशुकिशोर राउत, सुनील ठाकुर, आर्यन साह, सुजित यादव र सागर सिंहले समान १–१ विकेट लिए। खेलमा पुलिसका प्रियंशु ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

अब प्रतियोगिताको उपाधिका लागि पुलिस स्कुल र डिएभीबिच मंगलबार प्रतिस्पर्धा हुनेछ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान १० बजेबाट सुरु हुनेछ।

सुझावित समाचार