मन्थली नगरपालिका– ७, भटौलीको मुगिटार र खाँडादेवी गाउँपालिका– ४, पकरवासको मुहानचौताराबिचमा निर्माणाधीन पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।
उक्त पुल निर्माण सम्पन्न भएसँगै सदरमुकाम मन्थलीबाट मध्यपहाडी राजमार्ग जोड्नका लागि छोटो पर्ने भएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय रामेछापमार्फत सो पुल निर्माण गरेको हो ।
४२ मिटर लामो उक्त पुल तीन करोड ६६ लाखको लागतमा जयविष्णु थापा जेभीले निर्माण गरेको हो । तीन वर्षअघि सम्झौता गरेर काम अघि बढाएको निर्माणा कम्पनीले पछि पुलको डिजाइन परिवर्तन गरेपछि केही समय ढिलाइ भएको निर्माण व्यवसायी दीपक थापाले जानकारी दिए ।
सो पुल निर्माण भएसँगै सदरमुकाम मन्थलीबाट क्षेत्र नं. २ मा रहेका खाँडादेवी, सुनापति र दोरम्बा शैलुङ गाउँपालिका गरी तीनवटा गाउँपालिकाका नागरिकलाई आवतजावतमा सहजता मिल्नेछ । भटौली खोलामा पुल नहुँदा वर्षातको समयमा खोलामा आएको बाढीका कारण सवारीसाधन र नागरिकहरू आवतजावत गर्न समस्या हुँदै आएको थियो ।
पुल निर्माणा भएसँगै सवारीसाधन र नागरिक दुवैलाई ठुलो राहत मिलेको खाँडादेवी गाउँपालिका– ४ पकरवासका पूर्ववडाध्यक्ष धनबहादुर मानन्धरले जानकारी दिए ।