मकै उत्पादनको समयमा आएको हावाहुरी र वर्षा तथा उत्पादनपछि मूल्य घट्दा झापाका किसान दोहोर मर्कामा परेका छन् । अहिले धमाधम मकै उठाउने सिजन भए पनि किसानलाई दोहोरो चिन्ता थपिएको छ । फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्म आएको हावाहुरी र असिनासहितको वर्षाले मकैमा क्षति पुर्याउँदा र उत्पादनपछि मूल्य नपाउँदा किसान समस्यामा परेका हुन् ।
गत वर्ष प्रतिमन एक हजार ३२० रुपैयाँसम्म बिक्री भएको मकै यसपटक भने प्रतिमन एक हजार एक सय रुपैयाँसम्म मात्रै बिक्री भइरहेको छ । एकातिर हावाहुरी र वर्षाले मकैमा क्षति हुनु र हुरीले जोगिएपछि पनि भाउ नपाउँदा समस्यामा परेको शिवसताक्षी नगरपालिका– ७ का स्थानीय त्रिनारायण काफ्लेले बताए । १५ कट्ठामा गत वर्ष करिब ६० मन मकै उत्पादन भएको उनी बताउँछन् ।
तर, यसपटक भने २० मन पनि पुग्न मुस्किल भएको उनको भनाइ छ । त्यसमा पनि मकैको मूल्य घट्दा लगानी उठाउनसमेत मुस्किल भएको काफ्ले बताउँछन् । ‘१५ कट्ठामा मकै लगाएको छु । यसपटक २० मन पनि फलेन । गत वर्ष त एक कट्ठामा चार मन फलेको थियो । मकैको मूल्य पनि घटेको छ,’ उनले भने, ‘गत वर्ष प्रतिमन एक हजार चार सय रुपैयाँसम्म बेचेको मकै अहिले एक हजारदेखि एक हजार एक सय रुपैयाँसम्म पनि बिक्री हुँदैन । अहिले त किसानको बिजोग भएको छ । भाउ पनि घट्यो । हावाहुरीले मकैमा ठुलो क्षति पुर्यायो ।’ प्राकृतिक प्रकोपले मकैमा पुर्याएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र उत्पादन भएको मकैको बजारीकरण गरिदिन उनको सरकारसँग आग्रह छ ।
शिवसताक्षी– ७ की देवशी राजवंशीले पनि १५ कट्ठा क्षेत्रफलमा मकै खेती लगाएकी थिइन् । लघुवित्तबाट ऋण लिएर मकै खेती गरेकी राजवंशीको यसपटक लगानी उठ्ने सम्भावना पनि नरहेको उनी बताउँछिन् । ‘अहिले खेतमा लगाउने ट्र्याक्टर, मजदुर, सबैको मूल्य बढेको छ । तर, मकैको मूल्य घट्दा समस्या भएको छ । हामी त अहिले धेरै समस्यामा परेका छौँ,’ उनले भनिन्, ‘हावाहुरीले सबै मकै सखाप बनायो । रहेको पनि भाउ नहुँदा ऋण कसरी तिर्ने भन्ने समस्या भएको छ । राज्यले हेरे त हुने हो ।’
कृषि ज्ञान केन्द्र झापाका अनुसार गत फागुन अन्तिम र चैत पहिला साता आएको हावाहुरी र वर्षाले झापामा मात्रै एक अर्ब ३२ करोडबराबरको मकैमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार गत वर्ष ४४ हजार ६२० हेक्टरमा तीन लाख ५१ हजार ४२६ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस वर्ष ४६ हजार एक सय हेक्टरमा मकै खेती विस्तार भए पनि प्राकृतिक प्रकोपका कारण करिब १५ प्रतिशत मकै उत्पादन घट्ने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । ‘हामीले विवरण संकलन गरेर सम्बन्धित निकायमा पुर्याएका छौँ । तर, किसानले क्षतिपूर्तिचाहिँ पाएका छैनन्,’ कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले भने ।
हाइब्रिड मकै खेती गर्ने चलन झापामा पछिल्लो सयम बढ्दै गएको छ । यसरी खेती गर्दा महँगो बिउ र अधिक मलको प्रयोग गर्नुपर्ने भएकाले किसानको लगानीसमेत बढ्ने गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टको भनाइ छ । तर, राम्रो उत्पादन हुँदा नाफा पनि राम्रो हुने भएकाले किसानले चैते धान छाडेर पछिल्लो समय मकै खेतीलाई जोड दिन थालेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । यद्यपि, यस वर्ष प्राकृतिक प्रकोप र उत्पादनको समयमा मकैको मूल्य घट्दा किसान दोहोरो मर्काका परेको विष्टले बताए ।
गत वर्ष प्रतिमन एक हजार ३२० रुपैयाँसम्म बिक्री हुँदै आएको मकै यस वर्ष प्रतिमन एक हजार एक सय रुपैयाँसम्म मात्रै बिक्री भइरहेको उनले बताए । यद्यपि, मकैको मूल्य घट्नुको कारण भने जानकारी नभएको उनको भनाइ छ । ‘किसान यसपटक दोहोरो मर्कामा छन् । प्राकृतिक प्रकोपले मकै सखाप बनाएको छ । मकैको विगतको जस्तो मूल्य पनि छैन । मूल्य घट्नुको कारण पत्ता लागेको छैन । उत्पादन बढेर भनौँ भने गत वर्षको भन्दा घट्ने अवस्थामा छ,’ उनले भने, ‘दाना उद्योगसँग कुरा गर्दा भारतबाट आउने मकैको मूल्य कम भएका कारण यहाँको मकैको मूल्य पनि घटेको बुझेका छौँ । झापाको दाना उद्योगलाई यहीँको मकैले पुग्दैन । भारतबाट पनि आयात गर्नुपर्ने अवस्था छ ।’
सागर विष्ट, प्रमुख, कृषि ज्ञान केन्द्र झापा
किसान यसपटक दोहोरो मर्कामा छन् । प्राकृतिक प्रकोपले मकै सखाप बनाएको छ । मकैको विगतको जस्तो मूल्य पनि छैन । मूल्य घट्नुको कारण पत्ता लागेको छैन । उत्पादन बढेर भनौँ भने गत वर्षको भन्दा घट्ने अवस्थामा छ । दाना उद्योगसँग कुरा गर्दा भारतबाट आउने मकैको मूल्य कम भएका कारण यहाँको मकैको मूल्य पनि घटेको बुझेका छौँ । झापाको दाना उद्योगलाई यहीँको मकैले पुग्दैन । भारतबाट पनि आयात गर्नुपर्ने अवस्था छ ।
लामो खडेरी र फौजी किराले चिन्तामा किसान
धनकुटाको पाख्रीबास र महालक्ष्मी नगरपालिकाका तल्लो भेगका किसान लामो खडेरीका कारण मारमा परेका छन् । खडेरी र मकैमा फौजी किराको प्रकोप देखिएपछि उनीहरू दोहोरो मार खेप्न बाध्य हुँदै आएका छन् । पर्याप्त मात्रामा वर्षा नहुँदा मकैबाली सुक्न थालेपछि किसानहरूलाई यस वर्षको उत्पादन मात्र होइन, आगामी वर्षका लागि बिउ जोगाउने चिन्तासमेत थपिएको छ । वैशाखयता पर्याप्त वर्षा नहुँदा पाख्रीबास नगरपालिका– ५ अन्तर्गतका डिकुरे, गैरीगाउँ, दियाले, कटहरे, डडुवालगायत क्षेत्रका खेतबारीमा हरियाली देखिनुपर्ने मकैका बोट पहेँलिँदै सुक्न थालेका छन् ।
पाख्रीबास नगरपालिका– ५, गैरीगाउँका कुमार तामाङले पाँच रोपनी क्षेत्रफलमा लगाएको मकै लगभग नष्ट भएको बताए । उनले भने, ‘यस वर्ष मकैको बिउ पनि जोगाउन सकिँदैन होला । चैतमा थोरै पानी परे पनि त्यसपछि वर्षा भएको छैन । मकै मात्र होइन, वस्तुभाउलाई खुवाउने घाँससमेत सुक्न थालेको छ ।’
अर्का किसान गोपालबहादुर थापाले मकैमा दाना लाग्ने समयमा चर्को घामले बालीलाई गम्भीर क्षति पुर्याएको बताए । मुखमुखमा धानचामर आउने वेला खडेरीले सबै मकै सुकाएको उनले गुनासो सुनाए । कृषिमा निर्भर स्थानीयका लागि खडेरीको प्रभाव मकैमा मात्र सीमित छैन, अकासे पानीमा निर्भर अधिकांश क्षेत्रमा बर्खे धानको तयारीसमेत प्रभावित भएको छ । मंसिरमा पाक्ने धानका लागि यतिवेला ब्याड राखिसक्नुपर्ने भए पनि पर्याप्त पानी नहुँदा धेरै किसानले धानको ब्याड तयार गर्न सकेका छैनन् । समयमै वर्षा नभए धान उत्पादनमा समेत असर पर्ने चिन्ता किसानहरूमा बढेको छ ।
अहिले महालक्ष्मी नगरपालिकाको लेगुवा र सालघारी क्षेत्रमा खडेरीको प्रत्यक्ष असर देखिएको छ । किसानले लगाएको मकै बाली सुक्दै गएको छ । महालक्ष्मी नगरपालिकावासीले लामो समयदेखि पानी पर्न नसक्दा कतिपयले मकै छर्नै नपाएको र उम्रिएका बिरुवासमेत सुक्न थालेको बताएका छन् ।