आइतबार १० बजेसम्मको प्रमुख १० खबर

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठक सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुईजना प्रतिनिधिलाई सहभागी हुन निमन्त्रणा गरिएको छ।

पाँच लाख नाघे रास्वपाका संगठित सदस्य, दैनिक दुई हजार थपिँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका संगठित सदस्यको संख्या पाँच लाख नाघेको छ। निर्वाचनपछि सदस्यता लिनेको संख्या बढेको छ। 

संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार बिहीबारसम्म पाँच लाख १२ हजार ७४५ जनाले रास्वपाको सदस्यता लिएका छन्। दिनहुँ हजारभन्दा बढीले सदस्य लिइरहेको उनको भनाइ छ।  रास्वपाले डिजिटल एप डाउनलोड गरेर आफ्नो विवरण भरेर अनलाइनमार्फत सदस्यता लिन सक्ने व्यवस्था मिलाएको छ। अफलाइन फाराम भरेर पनि सदस्यता लिने विकल्प छ। अझै ५० हजारभन्दा माथि अफलाइन फाराम इन्ट्री हुन बाँकी नै रहेको संगठन विभागले जनाएको छ। 

असार पहिलो साता पहिलो महाधिवेशन गर्न लागेको रास्वपामा विभिन्न दल परित्याग गरेर प्रवेश गर्ने क्रम पनि बढेको छ। 

सडक विस्तारपछि यस्तो देखियो कालीमाटी–कुलेश्वर क्षेत्र [तस्बिरहरू]

सरकारले सुकुमवासी बस्ती हटाएको ठाउँमा सडक विस्तार गरिरहेको छ। विष्णुमती खोला किनारका बस्ती हटाएपछि अहिले त्यहाँ सडक निर्माण कार्य भइरहेको छ।

एआई, डिजिटल भुक्तानीमा सहकार्य, ८४ आयोजना हस्तान्तरण

रास्वपा सभापति रवि लामिछाने फर्किएकै दिन भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस जयशंकरबिच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ । वार्तामा दुई देशबिच सीमा, डुबान, बाढी नियन्त्रणदेखि ऊर्जा, जलस्रोत, विद्युत् प्रसारणलाइनलगायत विद्यमान संयन्त्र सक्रिय गराउन सहमति जनाएका छन् ।

संयन्त्रहरू सक्रिय भएपछि दुई महिनामा भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने र पुनः द्विपक्षीय एजेन्डामा छलफल गर्ने सहमति भएको छ ।

तीन वर्षअघि पहिरोले बगाएको सडक कालोपत्रे भएन

सुदूरपश्चिमको तराई र पहाडलाई जोड्ने एक मात्र सडक भीमदत्त राजमार्ग स्तरोन्नतिको काम ठप्प भएको छ । इन्धनको मूल्य बढेको र कालोपत्रेका लागि बिटुमिन (अलकत्रा)को अभाव भएको भन्दै एक महिनायता काम रोकिएको हो ।

स्तरोन्नतिअन्तर्गत कैलालीको गोदावरीदेखि सहजपुरसम्म ३१ किलोमिटर सडकमा कालोपत्रे थप्न थालिएकामा २५ प्रतिशत मात्र काम भएको छ । यही ३१ किलोमिटरभित्र गोदावरी नगरपालिकाको बुढीतोलामा पहिरोले बगाएको ३४० मिटर सडक कालोपत्रे गर्नुपर्नेछ ।

सानेपास्थित स्पाबाट किशोरीको उद्धार, सञ्चालिका पक्राउ

अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा ललितपुरस्थित एक स्पाका सञ्चालक पक्राउ परेका छन्। ललितपुर महानगरपालिका– २ सानेपा अरुण थापाचोकस्थित रहेको शुकल्प स्पा एन्ड थेरामीको सञ्चालिका सुमन थापामगर भन्ने सुमन कुमाललाई प्रहरीले पक्राउ गरेको हो । 

नेपाल–चीन व्यापारिक सम्बन्ध विकासका लागि संखुवासभामा १३ बुँदे प्रतिबद्धता

नेपाल र चीनको व्यापारिक सम्बन्ध विस्तार गर्न १३बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ‘पर्यटन विकास तथा प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ।

संखुवासभाको धर्मदेवी नगरपालिकाको केन्द्र मुढे बजारमा चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन छोउ पानको विशेष आतिथ्यतामा शुक्रबारदेखि सुरु भएको अन्तर्क्रिया आइतबार सम्पन्न भएको हो।

निजामती कर्मचारीले पाउने सहुलियतपूर्ण स्वास्थ्य सेवा अब प्रदेशस्तरमै

निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) बाट पाउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा अब प्रदेशस्तरमै पाउने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहलमा प्रदेश अस्पतालहरूसँग यसका लागि सम्झौता सुरु गरिएको छ।

कांग्रेस संसदीय दलको विवाद मिलाउन मन्त्री हेरफेर गरिँदै

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलभित्र देखिएको विवाद मिलाउन मन्त्रीहरू फेरबदल गर्न लागिएको छ । दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहबाहेक कांग्रेसबाट मन्त्री बनेका सबैलाई फिर्ता बोलाएर दुवै पक्षबाट भागबन्डाका आधारमा नयाँलाई मन्त्री नियुक्त गर्ने सहमति भएको छ । 

सम्भवतः आजै र नभए भोलिसम्ममा मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ । मुख्यमन्त्री शाहलाई हटाउन संसदीय दलमा नौजना सांसदले गत मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेश सभामा रहेका १८ मध्ये नौ सांसद विपक्षमा उभिएपछि मुख्यमन्त्री शाहको पद धरापमा परेको थियो ।

‘ऐतिहासिक प्रमाणका आधारमा सीमाका विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सक्षम छौँ’

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल सीमा विवादका सम्बन्धमा आफ्नो अडानमा स्पष्ट रहेको बताएका छन्।

भारत भ्रमण सकेर आइतबार फर्केपछि विमानस्थलमा पत्रकारहरूलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले ऐतिहासिक प्रमाणका आधारमा सीमाका विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सक्षम रहेको स्पष्ट पारे।

‘सीमाको विश्व इतिहास हेर्नुभयो भने पनि लामो समय लाग्ने गरेको देखिन्छ, तर मूल रूपमा हामी हाम्रा अडानमा स्पष्ट छौँ। हामी ऐतिहासिक प्रमाणका आधारमा सीमाका विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सक्छौँ र गर्नुपर्छ भन्ने कुरा राखेका छौँ,’ उनले भने।

सुझावित समाचार