नेपाल–चीन व्यापारिक सम्बन्ध विकासका लागि संखुवासभामा १३ बुँदे प्रतिबद्धता

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल र चीनको व्यापारिक सम्बन्ध विस्तार गर्न १३बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ‘पर्यटन विकास तथा प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ।

संखुवासभाको धर्मदेवी नगरपालिकाको केन्द्र मुढे बजारमा चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन छोउ पानको विशेष आतिथ्यतामा शुक्रबारदेखि सुरु भएको अन्तर्क्रिया आइतबार सम्पन्न भएको हो।

प्रतिबद्धतापत्रमा कोशी करिडोरका पर्यटकीय गन्तव्य, सम्पदाको विकास, प्रवर्द्धन र विस्तारका लागि तीनै तहका सरकारसँग समन्वय गरी अघि बढ्ने, पर्यटन विकास गर्न सूक्ष्म सम्भाव्यता अध्ययन गर्ने, सबै पालिकाहरूले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि बजेटसहित उच्च प्राथमिकतामा राख्ने, पर्यटन सुचना केन्द्र स्थापना गर्ने, प्रमुख पर्यटकीय गन्तव्य, संस्कृति, आकर्षण, स्थानीय उत्पादन र परिकारहरूको प्रवर्द्धन र प्रचारप्रसार गर्ने उल्लेख छ।

यसैगरी कृषि, वन पैदावर, जडिबुटी, पशुपालनलगायत विकास र प्रवर्द्धन गर्ने, होटेल रेस्टुरेन्ट र होमस्टेको प्रवर्द्धन र विकास गर्ने, हस्पिटालिटीसम्बन्धी आवश्यक प्रशिक्षण र तालिमजस्ता कार्यहरू स्थानीय तहदेखि नै गर्ने, डिजिटल माध्यमबाट व्यापक प्रचारप्रसारमा लाग्नेजस्ता १३बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको खाँदबारी सेवा समाजका उपाध्यक्ष जीवनाथ पोखरेलले जानकारी दिए। शक्तिशाली छिमेकी मित्रराष्ट्र चीनको १ प्रतिशत मात्रै नागरिकहरू संखुवासभा भ्रमणमा आए पनि जिल्लाको कायापलट हुने उनको भनाइ छ।

चिनियाँ नागरिकहरुलाई कोशी करिडोरभित्र पर्ने पर्यटकीय गन्तव्यसम्म ल्याउने र यहाँको पर्यटन विकासका साथै व्यापारिक सम्बन्ध विस्तार गरी आम्दानीको स्रोत बनाउन सकिने भएकाले बहस र अन्तर्क्रिया गरिएको पोखरेलले बताए। चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन छोउ पानले नेपालसँग व्यापारिक सम्बन्ध विस्तार गर्न चाहेको बताएका थिए। 

आगामी दिनमा किमाथांका नाकालाई सहज आवातजावात बनाई धेरैभन्दा धेरै चिनियाँ पर्यटक कोशी करिडोरमा भित्र्र्याउन तीनै तहको सरकार लागिपर्ने गरी अघि बढ्ने प्रतिबद्धता गरिएको छ।

सुझावित समाचार