दुर्गेश थापादेखि टीका सानुसम्म एउटै मञ्चमा, दरबार रोधीको वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोग

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सांगीतिक उल्लास र सामाजिक सेवालाई एकसाथ अघि बढाउने भएको छ। आगामी जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको रोधी घरमा आयोजना हुने तीनदिने विशेष सांगीतिक उत्सवमा चर्चित गायक तथा मोडल दुर्गेश थापादेखि लोकदोहोरीकी लोकप्रिय गायिका टीका सानुसम्मका दर्जनौँ चर्चित कलाकारहरू एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्।

वार्षिकोत्सवलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी क्लबले सामाजिक उत्तरदायित्वसमेत वहन गर्दै दृष्टिविहीन तथा सडकमा संघर्षरत कलाकारलाई हरेक वर्ष आर्थिक सहयोग प्रदान गर्ने घोषणासमेत गरेको छ।

क्लबका सञ्चालक सुनील कुँवरले हालै इन्द्रेणी कार्यक्रममा पुगेर दृष्टिविहीन कलाकारहरूको संघलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। कलाकार र कर्मचारीहरूको अथक मेहनतले १८औँ वर्षसम्म आइपुग्न सफल भएको बताउँदै कुँवरले भने, ‘अबदेखि हरेक वर्ष वार्षिकोत्सवको अवसरमा क्लबले कमाएको केही हिस्साबाट न्यूनतम ५० हजार रुपैयाँ सडकदेखि संघर्षरत र दृष्टिविहीन कलाकारहरूलाई सहयोग गर्नेछौँ।’

तीन दिनसम्म चल्ने यस वार्षिकोत्सवकाे सांगीतिक मेलामा पहिलो दिन जेठ २९ गते प्रेम राजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेको प्रस्तुति रहनेछ। दोस्रो दिन जेठ ३० गते रामजी खाँण, प्रीति आले र शान्तरानी परियारले दर्शकलाई नचाउनेछन् भने अन्तिम दिन जेठ ३१ गते, विश्व दोङ र टीका सानुले सांगीतिक माहोल तताउनेछन्।

यो उत्सव तीनै दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म चल्नेछ, जहाँ दर्शकले सांगीतिक मनोरञ्जनका साथै विशेष छुट र सहुलियतको सुविधासमेत पाउने सञ्चालक कुँवरले जानकारी दिए।

सुझावित समाचार