एनआइसी एसिया बैंकले तीनवटा संस्थालाई सहयोग सामग्री दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत परोपकारी संस्था तथा विद्यालयलाई विभिन्न सहयोग सामग्री प्रदान गरेको छ ।
बिर्तामोड, झापास्थित हाम्रो साझा घरलाई फर्निचर, निजगढ, बारास्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेची नगरस्थित श्री अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको हो ।
एक कार्यक्रमबिच बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेनराज सुब्बाले हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेड हस्तान्तरण गरेका हुन् । उक्त संस्थामा हाल ४४ भन्दा धेरै असहाय, अशक्त तथा वृद्ध व्यक्तिलाई खान बस्ने व्यवस्थासहित सहारा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी, वीरगन्जका सर्कल हेड गोपालप्रसाद सुवेदीले श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारलाई ल्यापटप तथा प्रोजेक्टर प्रदान गरे । यस्तै, केन्द्रीय सञ्चालन विभाग प्रमुख श्रेष्ठ र बिर्तामोड सर्कल सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप हस्तान्तरण गरेका हुन् । श्री सत्यश्वर शिवशक्तिमा दुई सय ६३ र अरनिको माध्यमिकमा तीन सय ५० भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
यो सहयोगले संस्थामा आश्रित व्यक्तिको दैनिक जीवन अझ सहज तथा स्वस्थकर हुने अपेक्षा गरिएको छ । साथसाथै सरकारी–सामुदायिक विद्यालयलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीले डिजिटल सिकाइ अभ्यासलाई सुदृढ बनाउने, विद्यालयमा विद्यार्थी सहभागिता बढाउने तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नसमेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।