कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वतः अद्यावधिक नहुने भएको छ । पार्टीका वरिष्ठ नेताहरूको क्रियाशील सदस्यता स्वतः अद्यावधिक हुने चर्चालाई क्रियाशील सदस्यता छानबिन समितिले निराधार भनेको छ । समिति सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहीले सदस्यता अद्यावधिक स्वयं सदस्यले नै गर्नुपर्ने उनले स्पष्ट पारे ।
‘सदस्यले स्वयं सदस्यता अद्यावधिक गर्नुपर्छ । लोकतान्त्रिक पार्टीमा कसैलाई पनि अतिरिक्त सुविधा हुँदैन । कसैको पनि स्वतः अद्यावधिक हुँदैन । नियम सबैलाई समान रूपमा लागू हुन्छ,’ उनले भने । अद्यावधिकको विषयलाई अतिरञ्जित गर्न नहुने उनको भनाइ छ ।
‘अद्यावधिक गर्ने भनेको कांग्रेसका सबै सदस्यलाई प्रविधिमा जोड्ने हो । टेलिफोन नम्बर, सामाजिक सञ्जाललगायतका विवरण रेकर्डमा राख्ने हो । जरासम्म कांग्रेस पुर्याउने हो,’ स्नेहीले भने । सदस्यता अद्यावधिक पार्टी पुनर्निर्माणका लागि कोसेढुंगा साबित हुने उनले दाबी गरे । ‘क्रियाशील सदस्यहरूले बुझ्दै जानुभएको छ । सोचेभन्दा राम्रो संख्यामा अद्यावधिक हुन्छ,’ उनले भने ।
गत १ वैशाखदेखि कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकको काम जारी छ । सुरुमा वैशाख महिनाभर समय तोकिए पनि दुईपटक समय थपेर २८ जेठसम्म पुर्याइएको छ । पहिलोपटक २१ जेठसम्म अद्यावधिकको समय दिइएको थियो । उक्त अवधिमा करिब चार लाखले मात्रै सदस्यता अद्यावधिक गरेपछि अन्तिमपटकका लागि भन्दै समय थपिएको छ । शनिबार साँझसम्म साढे चार लाख सदस्यता अद्यावधिक भएको सहमहामन्त्री स्नेहीले बताए ।
१४औँ महाधिवेशनपछि लागू हुने गरी स्वीकृत भएका क्रियाशील सदस्यहरूको अद्यावधिक र नवीकरणसम्बन्धी समस्या र गुनासो संकलनको जिम्मा कांग्रेसले केन्द्रीय कार्यालयका सचिव मुक्तिप्रसाद आचार्यलाई तोकेको छ । क्रियाशील सदस्यता नवीकरणका सम्बन्धमा गत पुस मसान्तसम्ममा प्रविष्ट गरिएका र प्रविष्ट गर्दा गर्दै सिष्टम बन्द भएर रोकिएका वा विविध कारणले तहगत सिफारिसमा छुट भई नवीकरण छुट भएका क्रियाशील सदस्यहरूको छुट नवीकरण गर्न आवश्यक समन्वय गर्न केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई जिम्मा दिइएको छ । प्रतिनिधिसभा क्षेत्रीय सभापतिद्वारा नयाँ क्रियाशील सदस्यता सिस्टममा प्रविष्ट गरिएका र प्रविष्ट गर्दागर्दै सिस्टम बन्द भएर रोकिएका वा विविध कारणले तहगत सिफारिसमा छुट भई नयाँ क्रियाशील सदस्यताबाट छुट हुन गएका क्रियाशील सदस्य, अनलाइनमार्फत वितरण गरिने नयाँ क्रियाशिल सदस्यतालाई आवश्यक समन्वय गर्न केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई सम्पर्क व्यक्ति तोकिएको छ ।
यस्तै, क्रियाशील सदस्यतासम्बन्धी समस्या र गुनासाहरूलाई लिखित रूपमा केन्द्रीय कार्यालयमा जानकारी गराउन केन्द्रीय कार्यालयका हरिचन्द्र खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ । अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका व्यक्तिहरूले कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गर्ने सम्बन्धमा आवश्यक समन्वयका लागि केन्द्रीय कार्यालयका विष्णुदेव ठाकुरलाई सम्पर्क व्यक्ति तोकिएको छ ।