- अधिवक्ता चन्दनकुमार कर्ण भन्छन्– मोबाइल नष्ट प्रकरणलाई लिएर अभिभावक अदालत पुगे संलग्न व्यक्तिविरुद्ध कारबाही र क्षतिपूर्ति दाबीसमेत हुन सक्छ, व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व हो ।
सिराहाका विभिन्न केन्द्रमा गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) र वैशाखको दोस्रो सातादेखि सञ्चालित कक्षा १२ को परीक्षामा विद्यार्थीबाट खोसिएका मोबाइल पानीमा डुबाएर नष्ट गरिएपछि चौतर्फी आलोचना भएको छ ।
एसइई र कक्षा १२ को परीक्षामा विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीबाट खोसिएका सातवटा आइफोन, चार सय ८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँचवटा स्मार्ट घडी शुक्रबार जिल्ला प्रहरी कार्यालयपरिसरमा पानीमा डुबाएर नष्ट गरिएपछि आक्रोश बढेको हो । विद्यार्थीहरूबाट बरामद गरी नष्ट गरिएको मोवाइलसहितका सामग्रीको बजारमूल्य करिब एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
स्थानीय प्रशासनले मोबाइल नष्ट गर्ने निर्णयप्रति अभिभावकहरूले प्रश्न उठाउँदै दुःख गरेर किनेको सम्पत्ति नष्ट गर्नु नाजायज रहेको स्थानीय अभिभावक नवीन यादवले बताए । ‘परीक्षा केन्द्रमा बन्देज गरिएको मोबाइल लैजान हुँदैनथ्यो,’ उनले भने, ‘परीक्षा कोठामा प्रवेश गर्नुअगावै खानतलासी लिनुपर्ने प्रहरी, शिक्षा, कर्मचारीले कसरी मोबाइल लैजान दिए ? उनीहरूमाथि कारबाही हुनुपर्दैन ?’ प्रतिप्रश्न गर्दै उनले भने । मर्यादित परीक्षाका लागि तोकिएको मापदण्डविपरीतका गतिविधि गर्ने विद्यार्थीमाथि कानुनी कारबाहीको बाटो हुँदहुँदै मोबाइल नै नष्ट गरिनु व्यक्तिको सम्पत्तिमाथिको हस्तक्षेप भएको उनको भनाइ छ ।
खोसिएका मोबाइल नष्ट गर्ने स्थानीय प्रशासनको कदमलाई विवादास्पद भन्दै कानुन व्यवसायीहरूले कानुनको विषय बन्न सक्ने औँल्याए । अधिवक्ता चन्दनकुमार कर्णले मोबाइल व्यक्तिको निजी सम्पत्ति भएकाले त्यसलाई नष्ट गर्ने निर्णय कानुनी परीक्षणको विषय बन्न सक्ने बताए । ‘मोबाइल नष्ट प्रकरणलाई लिएर अभिभावक अदालत पुगे संलग्न व्यक्तिविरुद्ध कारबाही र क्षतिपूर्ति दाबीसमेत हुन सक्छ,’ उनले भने ‘व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व हो ।’
गोपनीयता कायम राख्न मोबाइल नष्ट : सिडिओ पौडेल
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले व्यक्तिको गोपनीयता कम होस् भन्ने उद्देश्यले जफत गरिएका मोबाइल नष्ट गरिएको दाबी गरेका छन् ।
‘परीक्षामा बरामद गरिएका मोबाइल व्यक्तिको गोपनीयतासँग सम्बन्धित हुन्छ,’ उनले भने, ‘बरामद मोबाइलहरू लिलाम गर्न सकिने भए पनि अवाञ्छित व्यक्तिको हातमा पुगेको खण्डमा त्यसले ल्याउने दुर्घटना र सामाजिक अवरोध धेरै ठुलो हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नष्ट गरिएको हो ।’
राष्ट्रिय परीक्षा बोर्डको निर्णय र निर्देशन, प्रदेश शिक्षामन्त्रीको निर्णय तथा जिल्ला परीक्षा समन्वय समितिको निर्णयबमोजिम जफत गरिएका मोबाइलको व्यवस्थापनका लागि गठन गरिएको उपसमितिको निर्णयअनुसार नष्ट गरिएको उनले बताए ।
शिक्षा विकास तथा समन्वय एकाइ सिराहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि रहेको पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो ।
‘विकृत मानसिकताको उपज’
शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले विद्यार्थीबाट खोसिएका मोबाइल पानीमा डुबाएर नष्ट गरिनु विकृत मानसिकताको उपज रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले विदेशी मुद्रा तिरेर आयात गरेको करिब एक करोडभन्दा बढी मूल्यको मोबाइल र स्मार्टवाच नष्ट गर्नुअघि एकपटक किन सोचिएन भन्दै प्रश्न गरेका छन् । ‘परीक्षाहलको प्रवेशद्वारमै किन चेकजाँच गरिएन, हलभित्र मोबाइल लैजान दिने (निरीक्षक/कर्मचारी)को कान निमोठ्ने कि विद्यार्थीको मोबाइल जलाउने ?’ उनले भनेका छन् । ‘प्रवेशद्वारमै मोबाइल राख्ने नियम बनाएर लकर वा टोकनको व्यवस्था गरेको भए यो हर्कत गर्ने कुबुद्धि आउँथ्यो ? त्यसो गर्न नसक्ने परीक्षा समितिका पदाधिकारीलाई नसिहत दिने कि विद्यार्थीको मोबाइल जलाउने ?’