इनार सफा गर्ने क्रममा मकवानपुरको बागमतीमा एकजनाको मृत्यु, दुईजना घाइते

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर- ८, साततलेमा इनार सफा गर्ने क्रममा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

प्रहरीका अनुसार बागमती गाउँपालिका–८, ठोटरीखोलानिवासी मीनबहादुर योञ्जनको इनार सफा गर्ने क्रममा मृत्यु भएको हो। इनारभित्र बेहोस भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटनामा मीनबहादुरका भतिज नवीन योञ्जन र भान्जा समीर वाइबा घाइते भएका छन्। घाइते दुवैजनालाई उपचारका लागि फापरबारी लगिएको छ।

स्थानीयवासीका अनुसार इनारभित्र अक्सिजनको अभाव वा विषालु ग्यासका कारण घटना भएको हुन सक्ने आशंका गरिएको छ। इनार सफा गर्ने क्रममा एकपछि अर्को गर्दै उनीहरू भित्र पसेका थिए।

घटना मंगलबार दिउँसो करिब ३ बजे भएको बताइएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। मृत्युको यथार्थ कारण भने पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले बताएको छ।

See More On

सुझावित समाचार