राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पहिलो महाधिवेशन प्रक्रिया केवल नेतृत्व चयनको विषय नभई पार्टीको दीर्घकालीन जीवन, विधि, पद्धति र राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।
केही बेरअघि सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्ला अधिवेशनको अवसरमा पार्टीका सदस्य तथा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले वडा र पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको र जेठ २३ तथा २४ गते जिल्ला अधिवेशनहरू सञ्चालन भइरहेको उल्लेख गरे।
उनले पार्टीको सर्वोपरि हितका लागि सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको बताउँदै संवाद, सहमति तथा आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुनुपर्ने धारणा राखे। यस्ता प्रक्रियाले पार्टीलाई अझ बलियो र परिपक्व बनाउने उनको भनाइ छ। लामिछानेले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्यका लागि विचारसँगै व्यवहार, शैली र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्नेमा जोड दिए। पुरानै सोच, शैली र प्रवृत्तिबाट नयाँ तथा परिस्कृत जनमैत्री राजनीतिक शक्ति निर्माण हुन नसक्ने उनको तर्क थियो।
पार्टी स्थापनाकालमा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक ठानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने उनले बताए। चार वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएको उल्लेख गर्दै समयमै सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। उनले पार्टी जिम्मेवारीलाई भविष्यमा संसदीय अवसर प्राप्त गर्ने माध्यमका रूपमा हेरेर नेतृत्वका लागि अत्यधिक प्रतिस्पर्धा गर्ने प्रवृत्ति पनि देखिएको भन्दै यस्ता अभ्यासलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने बताए।
लामिछानेका अनुसार रास्वपाको वर्तमान अवस्था कुनै एक वा केही व्यक्तिको योगदानबाट नभई मतदाताको विवेक, पार्टी सदस्यहरूको समर्पण तथा पुराना र नयाँ पुस्ताको संयुक्त प्रयासबाट सम्भव भएको हो।उनले अब पार्टीको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको बताए। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै संगठन विस्तारलाई संकीर्ण दृष्टिकोणले नहेर्न आग्रह गरे।
‘अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने वेला आएको छ,’ लामिछानेले भने, ‘राजनीतिलाई सुसंस्कृत, पारदर्शी र जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ।’ उनले रास्वपाको पहिलो महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बन्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेता–कार्यकर्तालाई सफलताको शुभकामना दिएका छन्।