झन्डै एक दशकअघि उदयपुर र सुनसरीको सीमामा पर्ने सप्तकोशीको चतरामा वारिपारि गर्न डुंगा वा लामो घुमाउरो सडकको भर पर्नुपर्थ्यो । वर्षायाममा उर्लिएको कोशीले दुई किनारका बासिन्दालाई मात्र होइन, पूर्वी नेपालको आवागमनलाई नै चुनौती दिन्थ्यो । तर, २०७२ साउनमा एउटा ऐतिहासिक क्षण आयो । चतरा क्षेत्रमा सुनसरी र उदयपुरलाई जोड्ने कोशी पुल उद्घाटनसँगै वर्षौंदेखिको प्रतीक्षा अन्त्य भयो र कोशीमाथि विकासको नयाँ अध्याय सुरु भयो ।
अहिले त्यही पुलसँगै आएको परिवर्तनले चतरा क्षेत्रलाई कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउँदै लगेको छ । एक समय धार्मिक तीर्थस्थलका रूपमा मात्र चिनिएको चतरा अहिले धार्मिक पर्यटन, सांस्कृतिक सम्पदा, नदी पर्यटन, वन्यजन्तु संरक्षण तथा साहसिक खेलकुदको केन्द्रका रूपमा विकसित हुँदै गएको छ । उदयपुर र सुनसरीको सीमाक्षेत्रमा अवस्थित चतरा पूर्वी नेपालको पर्यटन नक्सामा नयाँ आशाको केन्द्र बनेको छ ।
पर्यटकको आकर्षण केन्द्र
हिन्दु धर्मावलम्बीले चतरालाई ‘पूर्वको हरिद्वार’ भनेर चिन्छन् । यसको प्रमुख कारण यहाँको धार्मिक महत्व हो । सप्तकोशी नदीको किनारमा अवस्थित चतराधाम, वराह क्षेत्र, विभिन्न आश्रम तथा स्नानघाटले यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाएका छन् । विशेषगरी वराह क्षेत्र नेपालका चार प्रमुख धाममध्ये एक मानिन्छ । हिन्दु धार्मिक मान्यताअनुसार भगवान विष्णुले वराह अवतार धारण गरेको स्थानका रूपमा यसको विशेष महत्व छ । वर्षभरि हजारौँ भक्तजन दर्शनका लागि यहाँ पुग्ने गर्छन् । माघे संक्रान्ति, एकादशी तथा अन्य धार्मिक अवसरमा श्रद्धालुको ठुलो भिड लाग्ने गर्छ । धार्मिक पर्यटकका लागि चतरा केवल दर्शन गर्ने स्थान मात्र होइन, आध्यात्मिक शान्ति प्राप्त गर्ने स्थल पनि हो । यही धार्मिक विरासतले चतराको पर्यटन विकासको बलियो आधार तयार गरेको छ ।
यता सप्तकोशी नदीमा अवस्थित विशाल शिला खुवालुङ किरात समुदायको सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको स्थान हो । किरात मुन्धुमअनुसार पुर्खाहरू यही मार्ग हुँदै पूर्वी पहाडी क्षेत्रमा प्रवेश गरेको विश्वास गरिन्छ । खुवालुङ किरात समुदायका लागि केवल ढुंगा होइन, सभ्यता र अस्तित्वको प्रतीक हो । पछिल्ला वर्षमा यसको संरक्षण र महत्वबारे राष्ट्रिय बहससमेत भएको थियो । त्यसपछि खुवालुङबारे देशव्यापी चासो बढेको छ । आज खुवालुङ किरात संस्कृति अध्ययन गर्ने अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ । यसले चतरालाई धार्मिक मात्र नभई सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा पनि स्थापित गरेको छ ।
चतराको पर्यटन विकासमा आधुनिक कोशी पुलको भूमिका अत्यन्त महत्वपूर्ण छ । उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्रलाई जोड्ने यो पुल आफैँमा आकर्षणको केन्द्र बनेको छ । मदन भण्डारी राजमार्गसँग जोडिएको पुल निर्माणपछि पूर्वी नेपालका विभिन्न जिल्लाबिचको दूरी छोटिएको छ । स्थानीय युवा रमेर तिम्सिनाका अनुसार पुल बनेपछि यहाँ आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ । उनका अनुसार धेरै मानिस पुल अवलोकन गर्न, तस्बिर खिच्न र सप्तकोशीको मनोरम दृश्य हेर्न मात्र पनि पुग्ने गरेका छन् ।
पुलआसपासको क्षेत्र वनभोजका लागि पनि लोकप्रिय बनेको छ । शनिबार तथा सार्वजनिक बिदाका दिन सयौँ समूह यहाँ वनभोजका लागि पुग्ने गर्छन् । सप्तकोशीको किनारमा बसेर रमाइलो गर्ने, बोटिङ गर्ने र मनोरञ्जन लिनेहरूको घुइँचो लाग्ने गरेको छ ।
सप्तकोशी नदीले चतरालाई दिएको सबैभन्दा ठुलो सम्भावनामध्ये एक हो जल पर्यटन । अहिले चतराबाट वराह क्षेत्र हुँदै भोजपुर, धनकुटा र उदयपुरका विभिन्न गन्तव्यसम्म जेटबोट सञ्चालन छ । वर्षायाममा बन्द हुने जेटबोट सेवा हिउँदमा प्रमुख आकर्षण बन्ने गरेको छ । शनिबार तथा बिदाका दिन जेटबोट चढ्न आउनेहरूको भिड लाग्ने गरेको व्यवसायीहरू बताउँछन् । कतिपय पर्यटक केवल जेटबोटको अनुभव लिनकै लागि चतरा पुग्ने गरेका छन् । नदीको बहावसँगै दौडिने जेटबोटले चतरालाई नेपालको प्रमुख नदी पर्यटन गन्तव्य बनाउने सम्भावना बोकेको छ ।
चतराबाट केही दूरीमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष प्रकृतिप्रेमीहरूको स्वर्ग मानिन्छ । नेपालको एक मात्र जंगली भैँसी अर्थात् अर्नाको प्रमुख वासस्थान रहेको यो आरक्ष जैविक विविधताका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित छ । यहाँ सयौँ प्रजातिका चराचुरुंगी, हरिण, नीलगाई तथा अन्य वन्यजन्तु पाइन्छन् । विशेषगरी, बर्ड वाचिङका लागि कोशीटप्पुको छुट्टै पहिचान छ । जाडोयाममा साइबेरियासहित विभिन्न देशबाट आउने प्रवासी चराहरू अवलोकन गर्न विदेशी पर्यटकसमेत यहाँ पुग्ने गरेका छन् । जंगल सफारी, बोट सफारी तथा प्रकृति अवलोकन यहाँका प्रमुख गतिविधि हुन् ।
प्याराग्लाइडिङको उदाउँदो गन्तव्य
चतराको पर्यटन विकासमा पछिल्लो समय सबैभन्दा धेरै चर्चा बटुलेको क्षेत्र हो प्याराग्लाइडिङ । उदयपुरको बेलका नगरपालिका–८ स्थित बोप्ताङ डाँडा अहिले पूर्वी नेपालको सम्भावनायुक्त प्याराग्लाइडिङ केन्द्रका रूपमा चिनिन थालेको छ ।
प्याराग्लाइडिङ उडानका लागि आवश्यक सीप सिकाउने आधारभूत पाइलट प्रशिक्षण विद्यालय स्थापना भएसँगै बोप्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्न थालेको छ । फ्लाइङ अन्डर प्याराग्लाइडिङ स्कुलका सञ्चालक तथा प्रशिक्षक सुरेन गुरुङका अनुसार नेपाल मात्र होइन, भारत, चीन, स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड तथा पोर्चुगललगायत देशबाट समेत प्रशिक्षण लिन आउने गरेका छन् ।
प्याराग्लाइडिङसम्बन्धी विभिन्न प्रतियोगितासमेत यहाँ आयोजना हुन थालेका छन् । गत चैतमा बोप्ताङ डाँडामा कोशी प्रदेशकै पहिलो प्रदेशस्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न भएको थियो । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ जिल्ला समिति उदयपुरका अध्यक्ष ईश्वर राईका अनुसार चतरा क्षेत्र कोशी प्रदेशकै उत्कृष्ट प्याराग्लाइडिङ केन्द्रमध्ये एक हो ।
बोप्ताङबाट उडान गर्दा तल फैलिएको सप्तकोशी नदी, चुरे क्षेत्रका हरिया डाँडा, जंगल तथा बस्तीहरूको दृश्यले पर्यटकलाई रोमाञ्चित बनाउँछ । फिसिङ, क्याम्पिङ, बर्ड वाचिङ र प्याराग्लाइडिङजस्ता गतिविधिले चतरालाई पूर्वी नेपालको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ । यता सुनकोशी, तमोर र अरुण नदीमा हुने र्याफ्टिङका पर्यटकको प्रमुख वासस्थान पनि चतरा क्षेत्र बन्दै गएको छ ।
होटेल, रिसोर्ट र होमस्टे विस्तार
पर्यटकको चहलपहल बढेसँगै होटेल तथा आवास व्यवसाय पनि विस्तार जारी छ । कोशीटप्पु क्षेत्रका रिसोर्ट, कोशी पुलआसपासका होटेल, चतरा बजारका गेस्टहाउस तथा होमस्टेहरूले पर्यटकलाई बसोवास र स्थानीय खानाको सुविधा प्रदान गरिरहेका छन् । विशेषगरी, स्थानीय समुदायले सञ्चालन गरेका होमस्टेहरूले पर्यटकलाई स्थानीय संस्कृति र जीवनशैलीसँग जोड्ने काम गरिरहेका छन् ।
बेलका होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष रमन भट्टराईका अनुसार चतरा क्षेत्र कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गए पनि अझै धेरै पूर्वाधार विकास आवश्यक छ । उनका अनुसार खानेपानी, फोहोर व्यवस्थापन, पार्किङ, सूचना केन्द्र, पदमार्ग तथा पर्यटन पूर्वाधारका क्षेत्रमा थप लगानी आवश्यक छ । प्याराग्लाइडिङ, जेटबोट तथा अन्य साहसिक गतिविधिका लागि स्पष्ट सरकारी नीति र दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ ।
भट्टराईका अनुसार पछिल्लो समय भारतको बिहार राज्यबाट आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ । उनले भने, ‘मेरो बेलका बिच रिसोर्टमा मात्रै मासिक एक हजारदेखि दुई हजार पाँच सयसम्म भारतीय पर्यटक आउने गरेका छन् । अन्य होटेल तथा रिसोर्टहरूको तथ्यांकसमेत जोड्दा मासिक सातदेखि आठ हजारसम्म बिहारी पर्यटक चतरा क्षेत्र पुग्ने गरेका छन् ।’ यो संख्या निरन्तर बढ्दो क्रममा रहेको व्यवसायीहरूको भनाइ छ ।
धार्मिक आस्था बोकेको वराह क्षेत्र, किरात सभ्यताको प्रतीक खुवालुङ, जैविक विविधताको धनी कोशीटप्पु, आकर्षक कोशी पुल, रोमाञ्चक जेटबोट यात्रा, उदाउँदो प्याराग्लाइडिङ तथा र्याफ्टिङजस्ता गतिविधिले चतरालाई पूर्वी नेपालको बहुआयामिक पर्यटन केन्द्रका रूपमा स्थापित गरिरहेको बेलका नगरपालिकाका पूर्वमेयर दुर्गाकुमार थापा ‘स्वतिक’ बताउँछन् । उनी थप्छन्, ‘अब चतरा क्षेत्रमा एउटा पर्यटन सूचना केन्द्रको जरुरी देख्छ । यस चतरा क्षेत्रको पर्यटनलाई अझै व्यवस्थित गर्न मुन्दुम पदमार्गलाई चतरासँग जोड्नुपर्छ । वराह क्षेत्र, मैनामैनी र छिन्ताङ क्षेत्रमा केवल कार निर्माणका लागि कोशी प्रदेश सरकारले विस्तृत गुरुयोजन बनाउँदै छ । त्यसले पनि थप आकर्षण थप्नेछ ।’
उनले अब सप्तकोशीलाई सौन्दर्यकरण गर्न जरुरी रहेको बताउँदै जेटबोट दोलालघाटसम्म सञ्चालनमा सरकारले ध्यान दिनुपर्ने सुझाव पनि दिए । उनले भने, ‘त्यसले जलजल यातायातको पनि विकास गर्नेछ ।’